डडेल्धुरा । जिल्ला सदरमुकामको टुडीखेलमा आयोजना हुने ‘अमरगढी टी–२० कप पुरुष क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सम्मान–समानता आर्थिक समृद्धि (डीप) डडेल्धुराले शुक्रबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको छ ।
शनिबार देखि अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा आयोजना हुने प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले गर्ने छन्।
जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गरिएको सम्मान–समानता आर्थिक समृद्धिका निर्देशक विक्रम जैरुले बताए। उनका अनुसार १२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ८ हजार, सर्वोष्कृट ब्याटरलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ। उनीहरूलाई पनि ट्रफी र मेडल दिइने निर्देशक जैरुले बताए।
ट्रफी सार्वजनिक कार्यक्रममा सम्मान–समानता आर्थिक समृद्धि डडेल्धुराका अध्यक्ष सुन्दर जैरुले प्रतियोगिता सफल पार्न सबै पक्षले सहयोग गर्नुपर्ने बताए। डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेतीले प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए।
संस्थाका अध्यक्ष सुन्दर जैरुले पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको र अब उपरान्त विभिन्न खेलकुद प्रतियोगितासंगै सचेतीकरण सवालमा काम गर्दै जाने बताएका छन ।












