डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठ हाजिर भएका छन्। डीएसपी दीपककुमार कार्कीको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत श्रेष्ठ यहाँ आएका हुन्।
बुधबार जिप्रका डडेल्धुरामा हाजिर भएका डीएसपी श्रेष्ठले शुक्रबार जिल्लास्थित पत्रकारहरूसँग दसैँ तथा दिपावलीको शुभकामना एवं परिचयात्मक कार्यक्रम गरि अपराधिक घटना न्यूनीकरण गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
‘यहाँ रहँदा अपराधका घटनामा कमी ल्याउने गरी काम गर्नेछु। लागुऔषध तथा साइबर सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन्छौँ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छु।’ यसका साथै उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने बताए।
उनले जिल्लामा रहँदासम्म कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता जनाए। चाडपर्वको समयमा जिल्लामा समग्र शान्तिसुरक्षा कायम गर्नका लागि साढे तीन सय बढी प्रहरी परिचालन गरेको डीएसपी श्रेष्ठले बताए।
जिल्लास्थित पत्रकारहरूले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन सुझाएका थिए। पत्रकारहरूले जुवातास, ट्राफिक व्यवस्थापन, हत्याहिंसा, आत्महत्या, लागूऔषध, चोरी तस्करीलगायतका घटना घट्ने हुँदा यिनीहरूको न्यूनीकरणमा ध्यान दिन डीएसपी श्रेष्ठलाई आग्रह गरेका थिए।












