जिल्ला स्तरिय पहिलो महिला भलिबलको उपाधाी परशुरामलाई

Image

डडेल्धुरा । जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधी परशुराम नगरपालिका जितेको छ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको फाईनलमा आलिताल गाउँपालिकाको टीमलाई हराउदै परशुराम नगरपालिकाको टीमले उपाधी जितेको हो ।

जिल्लाका सात वटा पालिकाका टीम बिच तुफानडाडामा रहेको ज्ञानोदय विद्यालय निकेतनका प्राङ्गणमा सोमबार भएको फाइनलमा छिमेकी पालिका आलिताललाई २–१ को सेटमा हराउँदै परशुरामले उपाधि उचालेको हो। उपाधिसँगै परशुरामले ५१ हजार १ सय ११ रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

उपविजेता बनेको आलिताल गाउँपालिकाले २५ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। प्रतियोगितामा भागेश्वर गाउँपालिका तृतीय भयो।

नवदुर्गा गाउँपालिकालाई २–१ को सेटमा पराजित गर्दै तृतीय बनेको भागेश्वरले नगद १५ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले परशुरामलाई ट्रफी हस्तान्तरण गरेकी थिइन्।

समापनमा बोल्दै राज्यमन्त्री खड्काले खेल जगतमा डडेल्धुराका खेलाडीहरूले जिल्लाको नाम रोशन गरेको बताइन्। उनले खेलकुद, शिक्षा, राजनीति क्षेत्रमा महिलालाई ढुक्कसँग अगाडि बढ्न आग्रह गरिन्।

खेलकुद विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाइन्। प्रदेश सरकारको आयोजनामा डडेल्धुरामा महिला प्रतियोगिता गराउने राज्यमन्त्री खड्काले आश्वासन दिइन्।

जिल्लामा पहिलोपटक आयोजना भएको अन्तर पालिका बीच प्रतिशपर्धा गराई जिल्ला स्तरीय महिला भलिबल प्रतियोगितामा यहाँका सातवटै स्थानीय तहका टिमको सहभागिता रहेको थियो।

सिर्जना सर्वोत्कृष्ट खेलाडी

परशुराम नगरपालिकाकी स्पाइकर सिर्जना दमाई प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। उनले नगद तीन हजार प्राप्त गरिन्।

परशुराम नगरपालिकाकै आरती विक बेस्ट स्पाइकर बन्दा आलिताल गाउँपालिकाकी अस्मिता गाहा मगर बेस्ट डिफेन्सर घोषित भइन्। भागेश्वरकी सिर्जना शाही उदयमान खेलाडी घोषित भइन् भने परशुरामकी पार्वती माल बेस्ट सेटर बनेकी छन्।

प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद दिँदै संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले आगामी वर्ष पनि महिला भलिबल प्रतियोगितालाई निरन्तरता दिने बताए।