डडेल्धुरा । पोखरी भएका कारण पोखरा नाम रहन गएको अमरगढी नगरपालिका ७ को जिर्ण पोखरी मर्मतका लागि बजेट परेको छ । पञ्चायती व्यवस्था वि.सं.२०२९ सालमा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी क्षमता करिब २० लाख लिटर क्षमताको सिंचाई पोखरी फुटे पछि जिर्ण बनेको १५ वर्ष भयो । अमरगढी नगरपालिका ७ का करिब एक दर्जन गाउँका हजारौ रोपनी जमिनमा सिंचाई गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी प्रयोगमा भने खासै कहिल्यै आएन ।
सुरुमा पोखरी निर्माण भएपनि उद्देश्य अनुसार गाउँ गाउँमा योजना विस्तार नै हुन सकेन । उद्देश्य अनुसार रित्तो रहदा जिर्ण भएको पोखरी पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रकमको टेण्डर भयो । पोखरी निर्मँण पछि पोखरा बजार आसपासका कैनी टोल, भाटागाउँ र सिरोला गाउँको जमिनमा सिंचाई गरिदै आएको थियो ।
२०६६ साल आसोज महिनाको अबिरल बर्षापछि पोखरीमा दरार आई फुट्यो । त्यस यता जिर्ण बनेको पोखरी निर्माणका लागि गत वर्ष पाँच लाख रकम बजेट थियो । तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुंगो नलाग्दा रकम फिर्ता भयो । चालुआर्थिक वर्षमा भने सुदूरपश्चिम प्रदेश सरकारबाट ३० लाख रकम विनियोजन भएको प्रदेशसभा सदस्य डा. तारा जोशीले जानकारी दिए ।
बहुउपयोगी पोखरी निर्माण गर्न करिब एक करोड रकम आवश्यक पर्ने भए पनि पहिलो चरणमा ३० लाख रकम विनियोजन भएको उनले बताए । सिंचाई मात्रै नभई अब यो पोखरीलाई माछा पालन, स्वीमिंग र खानेपानी गरि बहुउपयोगी तौरतरिकाबाट निर्माण गर्नु पर्ने उनले बताए । तीन तले पोखरी निर्माण गरि स्थानीय परम्परागत भाडा वर्तनको आकार र त्यस माथी माछाको आकार बनाई खानेपानी टंकी बनाउन प्राबिधिकसंग समन्वय भएको उनले बताए । सबैभन्दा माथी खानेपानी, दोस्रो भागमा स्वीमिंग र सबै भन्दा मूनीको टंकीमा सिंचाई र माछापालन गर्न सकिने गरि पोखरीको निर्माण गरिने उनको भनाई छ ।
बहुउपयोगी तरिकाको पोखरी बनाउन सके आकर्षणको केन्द्र बिन्दुसमेत हुन सक्ने उनले बताए । यस अघि पनि २०६१ साल पछि पोखरीमा माछापालनसंगै स्वीमिंग गर्न कष्टम राखेर शुल्क लिने गरिएको थियो भने छेउमा रेष्टुरेन्ट पनि संचालन गरिएको वडा अध्यक्ष खडक बोहराले बताए । बहुउपयोगी पोखरी निर्माण गर्न सके यस क्षेत्रको व्यवसायमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।
पोखरीको हालको लम्बाइ ३१.४ मिटिर, चौडाई २४.६ मिटर र उचाई २.३५ मिटर रहेको छ । यो पोखरी डडेल्धुरा–बैतडी जोड्ने मुख्य महाकाली राजगर्मासंगै जोडिएको भएकाले अब सडकको मापदण्ड अनुसार १५ मिटर छोड्नु पर्ने छ । अब निर्माण गर्दा वर्गाकारको हुने डिजायन ईष्टिमेट गरिरहेका ईञ्जिनियर श्यामकुमार बाडेले बताए । उनका अनुसार अब २४.५ मिटर वर्गाकार र उचाई पुरानै कायम गर्न सकिन्छ । अब यसको क्षमता करिब १४ लाख लिटरको हुने छ ।













