डडेल्धुरा बस दुर्घटनाः पाँच जनाको मृत्यु, दुई जना गम्भिर घाईते

Image

डडेल्धुरा । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी तर्फ गईरहेको ना ८ ख १०७८ नं.को रात्री बस मंगलबार मध्यराती दुर्घटना हुदा पाँच जनाको घटना स्थलमै ज्यान गयो । १२ जना घाईते भए । दुई जनाको अवस्था गम्भिर छ । डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको अमरगढी गरपालिका ७ कस्या टाकुरा नजिक कोकलभिटा भिरबाटमा बस खसेको थियो । राती करिब १२ बजेको समयमा बस दुर्घटना भएको प्रहरी जानकारी दिएको छ ।
बस महाकाली राजमार्गबाट करिब २५० मिटर तल पोखरा–बेलापुर सडकमा खसेको छ । बसका सबै भाग अलग अलग भएका छन । दुर्घटनामा परि बैतडीको पुर्चौंडी नगरपालिका–३, ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उहाँका दुई दिने दुधेबालक, छोरा २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा एकै परिवारका सदस्य रहेको खुलेको छ ।

बुधबार बिहान सम्म प्रहरीले रातीको समयमा चार जनाको मात्रै शव भेटिएको जानकारी दिएको थियो । घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसंगै मृतकको संख्या पाँच पुगेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एंव प्रहरी निरीक्षक उपेन्द्र बलमे पुर्चौंडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव पनि घटनास्थलबाट निकालिएको बताए । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान मात्रै फेला परेको हो ।

पवनदुत यातायात प्रा.ली.द्धारा संचालित बसमा अहिले सम्म मृतक र घाईते गरि १७ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार बस दुर्घटनामा परेको खबर प्राप्त हुना साथ उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी पुगेर घाईतेको उद्दार गरि डडेल्धुरा अस्पताल पुगाईएको थियो ।

घाईते मध्ये बैतडी जिल्ला पुर्चौंडी गरपालिका ८ का चालक २४ वर्षीय बिरेन्द्र बोहरा र डडेल्धुरा जिल्ला आलिताल गाँउपालिका १ का २१ वर्षीय मुकुन्द बोहराको उपचार डडेल्धुरा अस्पतालमा सम्भव नभए पछि रेफर गरिएको छ । बुधबार बिहान करिब ६ बजेको समयमा उनीहरुलाई अस्पतालबाट रेफर गरिएको उनले बताए ।

सडक किनारको पर्खाल भतकाउदै बस तल खसेकाले चालक निदाएकाले हुन सक्ने प्रहरीको अनुमान छ ।