निगाँलोका सामाग्री बेचेर चाडपर्वको खर्च

Image

डडेल्धुरा । अमरगढी नगरपालिका ७ कैनी टोलका स्थानीयहरुले परम्परागत रुपमा निगाँलोका विभिन्न सामाग्री बनाउदै आईरहेका छन । अन्न भण्डारण देखि दैनिक जीवन उपयोगी सामाग्री यहाँका कैनी, पार्की जातीले बनाउदै आईरहेका छन । खास गरि दसैँ तिहार र नया वर्ष (विशु) पर्वका बेला कैनी जातीले निगाँलोबाट सामाग्री बनाई खर्चको जोहो गर्दै आईरहेका छन ।

दसैँ तिहारका बेला धान, मकै, कोदो लगायतका अन्नबाली र नयाँ वर्षका बेला गहु बाली भित्र्याईने भएकाले पनि निगाँलोका सामाग्रीको खपत हुने गरेको स्थानीय लक्ष्मण कैनीले बताए । बाली भित्र्याउने बेला नै ठूला चाँडबाँड पर्ने भएकाले निगाँलोका सामाग्री बेचेर खर्चको जोहो गर्ने परम्परा पुर्खौ देखि चलिआएको उनले बताए ।

खास गरि निगाँलोबाट बनेको कोर्ङो,डुरो (अन्न भण्डार गर्ने भकारी) महंगो मूल्यमा बिक्रि हुने उनले बताऐ । चार कुन्टल अन्न अटाउने कोर्ङोको मूल्य चार हजार रुपियाँ सम्ममा बिक्रि हुने उनको भनाई छ । पहिले तराई जिल्ला कैलाली र कञ्चनपुरका गाउँहरुमासमेत यसको माग हुन्थ्यो, उनले भने, अहिले यी जिल्लाहरु शहर, बजार भईसके । अहिले डडेल्धुरा र डोटीका ग्रामिण गाउँहरुमा मात्रै बिक्रि हुने गरेको छ ।

वर्षमा आठ महिना जतिमा निगाँलोका सामाग्री बनाई भदौ, असोज, कात्तिक र फागुन, चैत महिनामा बिक्रि गर्न गाउँ गाउँ जाने चलन बाजेको पाला देखिबाटै चलिआएको अर्का स्थानीय नारायण कैनीले बताए । एक जनाले मात्रै ३० बढी डुरो बनाई बिक्रि गर्दा एक सिजनमा एक लाख बढी आम्दानी गर्ने गरेको उनले बताए । वर्षमा दुई पटक डुरो र डोको बिक्रि गरि चाँपर्वसंगै वर्ष भरी पुग्ने अन्नपात, लुगा कपडाका लागी जोहो गर्दै आईरहेको उनको भनाई छ ।

तर पछिल्ला वर्षहरुमा बजारमा जस्तापाताका भकारी, प्लाटिकका डस्टविन, बोरा, कट्टा आउदा निगाँलोका सामाग्री ओझेलमा परेको कैनी समुदायको गुनासो छ । परम्परागत सिप व्यवसायीक नहुदा लोप हुदै जाने अवस्थाको सिर्जना भएको प्रती यस समुदायको चिन्ता छ । मध्य पहाडको घंना जंगलमा पाईने निगाँलो हराउदै गएको छ ।

सामुदायिक वन बनाईएकाले पनि निगाँलो काट्न सहज नभएको स्थानीय दत्ति पार्कीले बताए । उनका अनुसार यसपाली बनाईएका सामाग्रीका लागि बझांग जिल्लाका विभिन्न वनहरुबाट निगाँलो ल्याईएको थियो । अमरगढी ७ को चन्द्रपुर सामुदायिक वनमा निगाँलो रोपेको भए पनि नफस्टाएको उनले बताए । बेला बेलामा विभिन्न संघसंस्थाहरुले निगाँलोका दराज, कुर्सी, टेबललगायतका विभिन्न सामाग्री बनाउन सहयोग गरे पनि व्यवसायीक रुपमा सिप समेत फस्टाउन नसकेको उनले बताए ।