डडेल्धुरा । प्रशिद्ध धार्मिक पिठ घटालथानको स्वरुप परिवर्तन गर्न निर्माणाधिन भौतिक संरचना अधुरै रहेका छन । संघियता पछि ठेक्का सम्झौता मार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/२०७६ मा एक करोड ४२ लाख रुपैयाँ बराबरको काम भएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षकको केन्द्र बिन्दु बनाउने योजनासहित यस पछिका वर्षहरुमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो ।
घटालथानमा भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन थाले पछि स्वरुप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथनमा अहिलेसम्म घटोत्कच बाबाको मूर्ती वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्र बाहिर पर्खाल, प्रदेशद्धार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिंढीबाटो, तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पीसीसी बाटो, शौचालय निर्माण गरिएका थिए ।
पछिल्ला वर्षहरुमा भने बजेट नआउदा भौतिक पूर्वाधार निर्माणको काम रोकिएको थियो । बजेट आएन तर यस वर्षको असोज महिनामा परेको अबिरल वर्षा पछि डोटी खोलामा बाढी आउदा ड्याम, शौचालय र प्राचिन नौलालगायतका भौतिक पूर्वाधारका संरचनामा क्षती पुगाएको छ ।
अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीका अनुसार विश्व बैंकको शहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम गरिएको थियो । तर पर्याप्त बजेट नहुदा योजना अनुसार काम पूर्ण रुपमा हुन सकेको थिएन । पछिल्ला वर्षहरुमा बजेट घट्दै गएका कारण कामले तिब्रता पाउन सकेको थिएन । यस वर्ष झन बाढीले क्षती पुगाएपछि पुनर्निमार्ण गर्न आवश्यक बजेट नभएको उनले बताए ।
डोटी खोलामा ड्याम लगाई कृतिम ताल बनाई डुंगा सयर गर्ने योजना बनाईएको थियो । उनले भने, केही ठाउँमा वाटर फाउन्टिन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाईएको थियो । २०८९ सम्म प्राप्त भएको रकमले केही काम गरिएको थियो । तर योजना अनुसार सबै काम हुन सकेको थिएन ।
अधुरो रहेको काम पुरा गर्न सम्बिन्धित मन्त्रालयहरुमा धाई रहेको नगर प्रमुख जोशीले बताए । बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र हो । ‘घटालथान’को अवलोकन गर्ने पर्यटकहरूको संख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए ।















