डडेल्धुरा । डडेल्धुराका दुई वटा कार्यालयका कार्यालय प्रमुखको सरुवा गरिएको छ । डिभिजन वन कार्यालय र जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुराका कार्यालय प्रमुखको सरुवा गरिएको छ ।
सुदूरपश्चि प्रदेशमा कर्मचारी सरुवा खुला गरिएसँगै तिव्र राजनीतिक चलखेल पनि शुरु भएको छ । प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भए पनि विभिन्न पक्षको रुचि र सेटिङका कारण कर्मचारी सरुवा विवादित बन्ने गरेको छ । कर्मचारी सरुवाका क्रममा विचौलियाहरु सकृय हुने र आर्थिक चलखेल हुने गरेको पाइएको छ ।
बुधबार सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख सचिवस्तरीय निर्णय गर्दै कुल ४५ जना कर्मचारीहरुको सरुवा गरेको छ । इन्जीनीयरिङ सेवा तर्फका नवौ र दसौं तहका चार जना कर्मचारी सरुवा हुँदा डडेल्धुरास्थित जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख रामरथ खरेललाई जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुला पठाइएको छ । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलालीका सिनियर डिभिजनल इन्जीनियर अमरबहादुर पाललाई जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय डडेल्धुरा सरुवा गरिएको छ ।
जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका सिनियर डिभिजनल इन्जीनियर डम्मरप्रसाद धिताललाई जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलाली पठाइएको छ भने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीका सिनियर डिभिजनल इन्जीनियर ग्रिष्म थापालाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलाली पठाइएको छ ।
यसैगरि वन सेवातर्फ नवौं र दसौं तहका चार जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ । डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलवानपुर कैलाली सरुवा गरिएको छ भने यसअघि निमित्त क्षेत्रीय वन निर्देशक रहेका कृष्णदत्त भट्टले डिभिजन वन कार्यालय धनगढीको जिम्मेवारी पाउनु भएको छ ।
डिभिजन वन कार्यालय पहलवानपुर कैलालीका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरलाई कञ्चनपुर र डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भिमप्रसाद कडेँललाई डिभिजन वन कार्यालय डडेल्धुरा सरुवा गरिएको छ । यसअघि आठौं तहका सुरेशचन्द्र डीसीलाई डिभिजन वन कार्यालय डडेल्धुराको डिभिजनल वन अधिकृतको जिम्मेवारी दिइएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार स्वास्थ्य सेवा तर्फ दसौं तहका बरिष्ठ कन्सल्टेन्ट रेडियोलिस्ट डा. निरज रावललाई दोहरो जिम्मेवारी हटाई सेती प्रादेशिक अस्पतालमा दरबन्दी कायम गरिएको छ । प्रशासन सेवा समान्य प्रशासन समुहका सातौं र आठौं तहका सात जना र पाँचौं र छैटौं तहका २८ जना कर्मचारीहरुको सरुवा गरिएको छ ।
मंगलबार टिप्पणी उठाएर सरुवाका लागि नामलिस्ट तयार गरिएका कतिपय कर्मचारीलाई राजनीतिक चलखेलको आधारमा सरुवा नगरिएको र नामलिस्ट नभएका कतिपय कर्मचारीहरुको सरुवा गरिएको गुनासो कर्मचारी वृतमा छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै ‘आकर्षक र कमाउ’ अड्डामा जान कर्मचारीको दौडधूप हुने गर्दछ । कर्मचारी सरुवा गराउनेले कर्मचारीहरुसँग रकम लिने गरेको स्रोतको दाबी छ । प्रदेशका ‘आकर्षक निकाय’ हरुमा कर्मचारी सरुवा गराउँदा ‘आर्थिक लेनदेन’ हुने गरेको गुनासो छ ।












