अजयमेरुमा शिक्षा योजना निर्माण गर्न अद्यावधिकको कार्य योजना बनाईयो

Image

डडेल्धुरा । अजयमेरु गाउँपालिकाले गुणस्तरीय सिकाईका लागि स्थानीय शिक्षा योजना निर्माण गर्न अद्यावधिकको कार्य योजना बनाएको छ । पालिका स्तरको शिक्षा योजना निर्माण, अद्यावधिक गर्न बिहिबार गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीको सहयोगमा विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) परियोजना संचालन गर्ने क्रियाकलाप बारेमा जानकारी दिदै कार्ययोजना बनाईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए ।

अद्यावधिकको कार्य योजना अनुसार स्थानीय तहको शिक्षा क्षेत्रको स्थिती विश्लेषण (तथ्यांक उद्देश्यहरु निर्धारण आदी) गर्ने काम कात्तिक महिना भित्र गरिसक्ने छ । यस्तै सम्बन्धित सरोकारवालाहरु संग सुझाव संकलन गर्ने कार्य मंसर मसान्त भित्र गरिसक्ने योजना छ ।

मस्यौदा तयारी माघ मसान्त सम्ममा, प्रारम्भिक मस्यौदामा सुझाव संकलन, योजनालाई अन्तिम रुप दिने, योजनाको लेखाजोखा र बाह्य मूल्यांक फागुन महिनामा, शिक्षा योजनाको अनुमोदन चैत महिना भित्रमा गाउँ कार्यपालिकाले गर्ने र शिक्षा योजनाको कार्यान्वयन चालु आर्थिक वर्षको अन्त्यमा गरिने गरि योजना बनाईएको उनले बताए ।

शिक्षा शाखा प्रमुख लालबहादुर सेटीका अनुसार अद्यावधिक कार्य योजना अनुसार बिहिबार कार्यपालिका सहित नगर शिक्षा समितिको बैठक (अभिमुखिकरण) र योजना निर्माण समिति कार्यदल गठन गरिएको हो । गुणस्तरीय सिकाईका लागि यो अभ्यास गरिन लागेको हो ।

सहयोगी साझेदार संस्था सीडीसीका कार्यक्रम प्रबन्धक हर्क ऐरले स्थानीय शिक्षा समुह गठन, पुनर्गठन र शिक्षा समुह संचालन निर्देशिका सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरि जानकारी दिईएको बताए । उनका अनुसार नेपालमा क्लस्टर अवधारणाको विकास सन २००८ को कोशी बाढी पछि भएको हो । विपदका कारण शिक्षा क्षेत्र एवं सिकाई हुने प्रभावलाई कम गर्न विभिन्न ६ वटा बुदा निर्माण गरि क्लस्टर बनाईएको छ ।

प्रधानाध्यापकलाई प्रारम्भिक बालविकास नीति र मापदण्ड सम्बन्धी अभिमुखिकरण

अजयमेरु गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरु लाई प्रारम्भिक बालविकास र मापदण्ड सम्बन्धि अभिमूखिकरण कार्यक्रम परि गरिएको ३० वटा सामुदायिक विद्यालय रहेको अजयेरु गाउँपालिकाका १५ वटा विद्यालयका प्रधानाध्यापकहरु लाई अभिमुखिकरण कार्यक्रममा सहभागी गराईएको गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासले जानकारी दिए ।

गाउँपालिका मुकाम भद्रपुरमा बिहिबार देखि दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको उनले बताए । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिबृद्ध कार्यक्रम र प्रारम्भिक बालविकास नीति र प्रारम्भिक मापदण्ड (ईएलडीएस) सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरु लाई उनले सिकेका बिषय वस्तु व्यवहारमा लागु गरि गुणस्तरीय सिकाईमा ध्यान दिन आग्रह गरे ।
सहयोगी संस्था सीडीसीका निर्देशक हेमराज जोशीले आजका बालबालिका भविष्यका कर्णधार मात्रै नभई वर्तमानका साझेदार पनि भएकोले गुणस्तरीय सिकाईका लागी अबलम्ब गरिएका योजनाहरु कार्यान्वयन गर्नु पर्ने बताए । जग बलियो भए घर बलियो हुने उदाहरण सबैलाई जानकारी भएको उल्लेख गर्दै उनले आजका बालिबालिका भोलिका देशका नेतृत्वकर्ता समेत हुने भएकाले शिक्षाको गुणस्तर सिकाई प्रभावकारी रुपमा लागु गरिनु पर्ने बताए ।

उनका अनुसार अजयमेरु गाउँपालिकामा यस अघि बालविकास सहजकर्ताहरु लाई पाँच दिने अभिमुखिकरण कार्यक्रम पनि दिईएको थियो । सीडीसीले शिक्षाको क्षेत्रमा सुदूरपश्चिमका नौ वटा जिल्लाका ३० वटा पालिकाहरुमा काम गरिरहेको जानकारी दिदै उनले डडेल्धुराका दुई पालिकाहरु मध्ये अजयमेरु गाउँपालिका कोर पालिकाका रुपमा छनौट भई सहयोग समन्वय गरिरहेकाले गुणस्तरीय सिकाईका लागि सरोकारवालहरुले बढी ध्यान दिनु पर्ने बताए ।