एक दशक सम्म बनेन् गन्यापधुरा–नवदुर्गा सेतु

Image

डडेल्धुरा । गन्यपाधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका जोड्ने सेतु एक दशक सम्म निर्माण हुन सकेको छैन । जिल्लाको नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका लाई जोड्ने पक्कि मोटेवल पुल निर्माण चरणको एक दशक सम्म सम्पन्न हुन नसकेको हो । सानो खोलाको सानो पुल भएपनि निर्माण कार्य भने एक दशकसम्म सम्पन्न नहुदा स्थानीयलाई सास्ति छ । एक दशकसम्म स्थानीय पुल बन्ने आशमा खोला तर्दै आईरहनु भएको छ ।

गन्यापधुरा गाउँपालिका–३ सकायललाई नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्ने सकायल खोलामा निर्माणाधिन पक्कि मोटरेबल पुल २०७२ देखि अलपत्र अवस्थामा रहेको छ । करिब दुई करोड ५० लाखको लागत रहेको पुलको निर्माण सम्पन्न दुई वर्षभित्र गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीसंग जेभी ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको १० वर्ष पुग्दासम्म करिव ७५ प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख सिडीई रमेश भट्टराईले जानकारी दिए । उनका अनुसार हाल सम्म पुल निर्माणका लागि चार पटक म्याद थप गरिएको छ । पटक पटक म्याद थप गरिए पनि काम सम्पन्न भने भएन । काम सम्पन्न बराबरको भुक्तानी पनि निर्माण व्यवसायीले बुझेको उनले बताए । करिब एक वर्ष देखि पूर्ण रुपमा काम ठप्प रहेको छ । अब तिहार पछि काम सुचारु गर्ने निर्माण कम्पनीले जानकारी गराएको उनले बताए । पुल अगाडीको सडक बनाउन जग्गा विवाद पनि रहेको उनको भनाई छ ।

वर्षातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहरदोहर गर्न समस्या भएको स्थानीय राजेन्द्र देउवाले बताए । उनले भने, ‘निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा स्थानीयले जोखिम मोलेर खोला वारपार गर्नुपरेको छ ।’

पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कायालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीले बताए । बिहिबार मात्रै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहितको टोलीले स्थलगत अनुगमन गरेर पुल निर्माणका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको उनले बताए ।

काम सम्पन्न गर्नका पटक पटक म्याद थप भएकाले यो अवधि सकिँदा पनि काम सम्पन्न नगरेमा निर्माण कम्पनीलाई कारवाही गरिने सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख भट्टराईको भनाई छ ।