डडेल्धुरा । नेपालका प्रधानमन्त्री, मन्त्रीलगायत उच्चस्तरिय मण्डलको भारत भ्रमण र चुनावका बेला सुदूरपश्चिमा उठ्ने एउटै मुद्दा हो पञ्चेश्वर बुहुउद्देशीय परियोजना । सिमा नदी महाकालीमा ड्याम बनाई बिद्युत देखि सिंचाई, खानेपानी लगायतका बहुउपयोगी योजना निर्माण गर्न पञ्चेश्वर परियोजनाको कल्पना गरिएको थियो । यस परियोजनाबाट लाखौ नेपालीले रोजगार पाउने र देशको अर्थतन्त्र नै बलियो हुने अड्कल नेताहरुले बताउदै आईरहेका छन । तर काम भने अघि बढ्न सकेको छैन । बरु अघि बढेका काम रोकिएको पनि तीन दशक भईसकेको छ ।
२०४१/०४२ साल तिर पञ्चेश्वर परियोजनाले भूकम्प मापनका लागि डडेल्धुरा जिल्ला सदरमुकाम खलंगामा केही यन्त्र जडान गरेको थियो । कंक्रिट, काठ र जस्तापाताको प्रयोगमा टहरो निर्माण गरि करिब १०/१२ वर्ष सम्म भूकम्म मापन गर्ने यन्त्र जडान गरिएका थिए । यन्त्र र यन्त्रले दिने जानकारी केन्द्रमा पठाउन एक जना सहायक पदमा कर्मचारी नियुक्त गरिएका थिए । तर २०५२ साल यता ती उपकरण हटाईएका छन ।
जडान गरिएका यन्त्र, उपकरण हटाईएपछि पञ्चेश्वर परियोजना नबन्ने निश्चित भएको अड्कल गर्न सकिन्छ ।
डडेल्धुरामा जडान गरिएका भूकम्प मापन गर्ने यन्त्र हटाईएको २९ वर्ष पुगिसकेको छ । तर पनि परियोजना निर्माण गर्ने सवालमा भारतसंग समन्वय भईरहेको पटक पटकका प्रधानमन्त्री देखि नेताहरुले बोल्दै आईरहेका छन । अध्ययन अनुसन्धान निकै अघि बढेर दुई पटक निर्माणका लागी सम्झौता नै भएको पश्चिम सेती जल बिद्युत परियोजना निर्माण नभए पछि निरास भएका सुदूरपश्चिमवासी एवं आम नेपाली नागरिकले पञ्चेश्वर परियोजना निर्माण होला भन्ने विश्वास भने गर्दैन्न । तर पनि चुनाव र भारत भ्रमणका बेला प्रधानमन्त्री देखी मन्त्रि र नेताहरु पञ्चेश्वर निर्माणको नारा छोड्न सकिरहेका छनन् ।
डडेल्धुराको भित्रिमधेश क्षेत्र जोगबुडा र जिल्ला सदरमुकामको खलंगामा भूकम्म मापन गर्ने साना उपकरण थिए । उपकरणका सहायक कर्मचारी गणेश कठायतले भने, बैतडी, पाटनमा पनि उपकरण जडान गरिएका थिए । हामिले दैनिक कागज फेर्नु पथ्र्यो र उपकरणबाट निकालिएका कागज पञ्चेश्वरमै रहेको केन्द्रिय कार्यालयमा बुझाउनुु पथ्र्यो । तलब पनि पञ्चेश्वरमा रहेको कार्यालयबाटै बुझ्थीयौ ।
अमरगढी नगरपालिका ५ तल्लो खलंगा निवासी कठायतले करिब पाँच÷छ वर्ष काम गरेको बताउछन । उनले काम गर्नुभन्दा अघि उनका दाईले काम गर्थे । उनका दाई शिक्षक भएपछि आफुले उक्त काम गरेको उनले बताए । २०५२ सालमा घुम्ने उपकरण (सिस्मोग्राफ) बिग्रिए पछि काठमाडौं पठाएको उनी बताउछन । बिग्रिएका उपकरण काठमाडौं पठाएपछि फिर्ता नआएको उनको भनाई छ । उपकरण फिर्ता नआएपछि आफुपनि बेरोजगार भएको उनले सुनाए ।
तत्कालिन श्री ५ को सरकार जलस्रोत मन्त्रालय अन्तरगत बिद्युत विकास केन्द्रबाट उनलाई साईस्मिक केन्द्रको हेल्पर पदमा मासिक ज्यालादारीमा नियुक्त गरिएको थियो । साईस्मिक केन्द्र पहिले खलंगामा रहेको जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको थियो । त्यहाँ मानिसको आवत जावत बढी हुने हुदा सिस्मोग्राफमा मान्छे हिडेकोसमेत रेकर्ड हुन थालेपनि बागबजार माथि रहेको वन कार्यालय भन्दा पनि पर जंगलमा साईस्मिक केन्द्र स्थापना गरिएको उनले बताए ।
जंगलमा स्थापना गरिएको साईस्मिक केन्द्र अहिले जिर्ण बनेको छ । उपकरण केही छैनन् । परियोजना नबन्ने नै भएकाले उपकरण पुनः नपठाएको हुनसक्ने उनले बताए । परियोजना बन्ने भए स्थापना गरिएका केन्द्र पुनः सञ्चालन हुनु पर्ने स्थानीयहरुको बुझाई छ ।













