डडेल्धुरा । जिल्ला सदरमुकामको बागबाजर स्थित ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दारलाई हातपात गरी शक्त घाइते बनाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ बागबजार पोष्टको ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वर प्रकाश पन्तलाई ढुङ्गाले हानेर पाँच जना युवाको समुहले शक्त घाइते बनाएको थियो ।
मंगलबार बेलुकी करिब साढे ६ बजेको समयमा प्रहरी सहायक हवल्दार पन्तले धनगढीबाट डडेल्धुरातर्फ आइरहेको जीजे ०५ आरभी ८८४८ भारतीय नम्बर प्लेटको कार रोकेर चेकजाँच गर्न रोकेका थिए । सोही क्रममा कारमा सवार अजयमेरु गाउँपालिका–४ बस्ने २८ वर्षीय विनोद बैजलगायत पाँच जनाले हातपात गरे । प्रहरी सहायक हवल्दार पन्तको टाउको पछाडि भागमा ढुङ्गाले हानी शक्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्टले जानकारी दिए ।
प्रहरीले कार चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २२ वर्षीय रोहित सार्की र विनोद बैजलाई घटनास्थलबाटै पक्राउ गरेको थियो। उक्त घटनामा संलग्न अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए ।
उनका अनुसार अजयमेरु–४ चिपुर बस्ने २६ वर्षीय पदम चटौत, २३ वर्षीय सुवास बोहरा र जित ऐरलाई पक्राउ गरिएको छ । प्रहरी नायव उपरिक्षक .श्रेष्ठले भने, ‘चटौतलाई हामीले उनकै घर ठेगानाबाट नियन्त्रणमा लिएका हौँ। बोहरा र ऐरलाई बागबजारबाट पक्राउ गरेका थियौँ।’
पक्राउ परेकाहरूलाई सार्वजनिक सुरक्षा हित, स्वास्थ्य र नैतिकविरुद्धको अपराधमा सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले बताए । ढुङ्गा प्रहारबाट घाइते पन्तको धनगढीमा उपचार भइरहेको उनले जानकारी दिए ।












