डडेल्धुरा । पूर्व मेची देखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर बसोबास गर्ने स्थानीयहरुको जीवन रेखा हो । दुई हजार मिटर देखी दुई हजार सात सय बढी उचाई सम्म भएका मध्य पहाड महाभारतको भू बनोट, प्राकृतिक, जैविक र धार्मिक बिबिधता छ ।
महाभारत पर्वतमा भएका पानीका मुहान, विभिन्न प्रकारका जडिबुटी, काठ, ढुंगा, घाँस, दाउराले यस क्षेत्र वरवर बसोबास गर्ने स्थानीयहरुको दैनिकी सहज भएको छ । हाम्रा पुर्खाहरु घरपालुवा जनावर पाल्न सहजका लागि जंगलमै बसोबास गर्ने गर्दथे । यीनै अग्ला पहाडमा जडान गरिएका सञ्चारका टावरहरु फोन, ईन्टरनेट, टीभीका टावरले अहिलेको आधुनिक पुस्ताको दैनिकीलाई सहज बनाएको छ ।
महाभारत पर्वतको प्राकृतिक बिबिधताले जो कोहीको मन लोभ्याउन सक्छ । महाभारत पर्वतमा ठूला ठूला फाँटहरुसमेत छन । यी फाँटहरुमा बुट्यान फूलको मनमोहक दृष्यहरुले पनि मन लोभ्याउछ । महाभारतका योद्धा भीमले ढुंगामा सिगाँन पुछ्दा पाँच औलाको छाप रहेको भन्ने किम्बदन्ति रहेको ढुंगा यहाँ छ । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ३ र आलिताल गाउँपालिका २ को सिमानामा अवस्थित एक ढुंगामा अहिले पनि ढुंगामा पाँच औलाको छाप देख्न सकिन्छ । महाभारतकै फेद डोटीको जारोयल गाउँपालिकामा भिम छेदन शिला छ । भिमले तरबार हानेर ढुंगा काटिएको भन्ने किन्बदन्ति अनुसार शिला काटिएको देखिन्छ ।
भिमले सिगान पुछेको ढुंगाको केही पर आलिताल गाउँपालिका २ मा रामशिलाको पानी छ । ढुंगा मूनीबाट पानीको सानो मूल छ । त्रेतायुगमा राम बनवास गएका बेला सितालाई तिर्खा लागेपछि रामले ढुंगामा बाण हानेर पानि फुटेकाले रामशिलाको पानी भनिएको भन्ने किम्बदन्ति छ । महाभारत र त्रेता युगका भगवानका ईतिहास मात्रै नभई महाभारत पर्वतमा शक्तिशाली देवताका मन्दिरहरु समेत छन । महाभारत पर्वतको भागेश्वर गाउँपालिका २ मा पर्ने अग्लो डाडोमा भागेश्वर देवताको मन्दिर छ । यस मन्दिरकै नामबाट भागेश्वर गाउँपालिकाको नामाकरण गरिएको हो ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ मा लाटा गन्यापको मन्दिर छ । यस गाउँपालिकाको नाम पनि यीनै शक्तिशालि देवताको नामबाट नामाकरण गरिएको हो । डोटी जोरायल गाउँपालिकामा घण्टेश्वर बाबाको मन्दिर छ । यी शक्तिशाली मानिने देवताका मन्दिरहरु संगै अन्य कैयौ देविदेवताका थानहरु महाभारत पर्वत भित्र रहेको धर्म संकृतिका जानकार कैलाश कुमार पाण्डेयको भनाई छ ।
पहाडी जिल्लाहरुमा सडक संजाल नजोडिदा करिब चार दशक पहिलेसम्म पैदल यात्रा गरि यही महाभारत पर्वत छिचोल्दै पहाडबासी भारतिय बजार टनकपुसम्म पुगेर दैनिक उपभोग्य वस्तुको जोहो गर्दथे । यसैक्रममा पहाडवासी तराईका फाँटहरुमा बसाई सर्दै गर्दा बाटोमा निर्माण गरिएका सयौको संख्यामा ढुंगे धर्मशालाहरु छन । पानीका मुहान भएका ठाउँहरुमा न्वला (ईनार) र धर्मशालाहरु निर्माण गरिएका थिए ।
महाभारत पर्वतको धार्मिक र पुर्खाहरुले हिडेको बाटो संरक्षण र व्यवसायीकतामा ढाल्न पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रकम विनियोजन भएको छ ।
महाभारत पर्वको गन्यापधुरा–घण्टेश्वर–भागेश्वर मन्दिरसम्मको पद मार्गको नक्सांकन गर्न डडेल्धुराबाट निर्वाचित स्वतन्त्र सांसद डा.तारा जोशीसहति प्राबिधिक टोलि यस पद मार्गमा हिड्नु भएको छ । शुक्रबार गन्यापधुरा गाउँपालिका १ हगुल्टेबाट हिडेर आलिताल गाउँपालिका २ काफली क्षेत्रमा टेण्ड भित्र बास बसेको उनले बताए ।
हगुल्टेबाट करिब १२ घण्टाको पैदल यात्रा पछि बास बसेको उनले जानकारी दिए । पैदल यात्राको आज दोस्रो दिन भागेश्वर मन्दिर पुग्न सकिने उनले बताए । डिभिजन वन कार्यालयबाट खर्च गर्ने गरि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख रकम विनियोजन गरेको उनले बताए । यसका लागि प्रारम्भिक चरणमा वन कार्यालयसहित केही निजि कम्पनीका प्राबिधि, राजनीतिकर्मी, हाईकिंग, ट्रेकिंग गर्दै आईरहेका भएका युवा र सञ्चारकर्मीहरुको टोली महाभारत पर्वतको यस पद मार्गको पहिचानका लागि हिडेको उनले बताए ।
लाटा गन्याप–घण्टेश्वर–भागेश्वर मन्दिर जोड्ने धार्मिक पद मार्ग निर्माण संगै जंगल र पहाड चढ्ने हाईकिंग, ट्रेकिंगका लागि विकास गर्न सकिने योजना अनुरुप पहिलो पटक उक्त रकम विनियोजन भएको उनले बताए । पुर्खाले हिडेको बाटो पनि भएकाले ईतिहास र पुर्खाको जीवनशैली खोज, अध्ययनका लागि पनि यो पद मार्ग उपयुक्त हुने उनको भनाई छ । यस्ता गतिबिधिले यहाँको समाज व्यवसायीकता तर्फ अग्रसर हुने उनले बताए ।















