काठमाडौँ । नेपालमा चिकित्सा शिक्षा अध्ययनका लागि निर्धारित सिट सङ्ख्या न्यून छ । यस कारण अध्ययनका लागि नेपाली विद्यार्थी बिदेसिने क्रम बढ्दो छ ।
विद्यार्थीले चिकित्सा शिक्षा आयोगले लिने गरेको प्रवेश परीक्षा पास गरे पनि नेपालमा एमबिबिएस अध्ययन गर्न पाइँदैन । आयोगले लिएको प्रवेश परीक्षा पास भएपछि नेपालमा मेरिटका आधारमा मात्र एमबिबिएस अध्ययन गर्न पाउने भएकाले नाम निकाल्ने सबै विद्यार्थीले नेपालकै मेडिकल कलेजमा अध्ययन गर्न पाउँदैनन् ।
तीन वर्षअघि नेपालका कुनै मेडिकल कलेजमा अध्ययन गर्न नपाइने भएपछि कपनकी बिहानी शर्मा एमबिबिएस अध्ययन गर्न फिलिपिन्स गईन । फिलिपिन्समा उनीसँगै २१ जना नेपाली विद्यार्थी एमबिबिएस अध्ययन गरिरहेका छन् । विदेशमा एमबिबिएस अध्ययनका लागि नेपालभन्दा धेरै खर्च हुने गरेको छ ।
बिहानीका बुवा केदार शर्माले तीन वर्षमै एक करोड रुपियाँभन्दा बढी खर्च भइसकेको बताए। नेपालमा एमबिबिएस अध्ययन गर्न पाएको भए उक्त पैसा नेपालमै रहने उनको भनाइ छ ।
नेपालबाट एमबिबिएस अध्ययनका लागि सबैभन्दा धेरै चीन र बङ्गलादेश जाने गरेका छन् । त्यसबाहेक भारत, पाकिस्तान, जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत, रसिया, युक्रेनलगायतका मुलुकमा पनि एमबिबिएस अध्ययनका लागि जाने गर्छन् । जानकारका अनुसार विदेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने प्रत्येक विद्यार्थीको खर्च ७० लाखदेखि एक करोड रुपियाँसम्म लाग्छ ।
केही वर्षअघिसम्म नेपालबाट एमबिबिएस अध्ययनका लागि एक हजार पाँच सयसम्म नेपाली विद्यार्थी अध्ययन गर्न जाने गर्थे । चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आफू आयोगको उपाध्यक्ष हुनुभन्दा पहिले एमबिबिएस अध्ययनका लागि वार्षिक एक हजार पाँच सयभन्दा बढी विद्यार्थी विदेश जाने गरेको बताए ।
उनले पछिल्लो समय सात सय विद्यार्थी विदेश गएर एमबिबिएस अध्ययन गरिरहेको जानकारी दिए। उनले चिकित्सा आयोगबाट अनुमति लिएर विदेश जाने विद्यार्थी सात सयदेखि एक हजारसम्म हुने बताए । यो वर्ष चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा सात हजार ८४७ जना विद्यार्थी पास भएका थिए तर एक हजार ४४८ जनाले मात्र नेपालमा एमबिबिएस अध्ययन गर्न पाए ।
एमबिबिएस अध्ययनका लागि आयोगमा नाम निकालेका विद्यार्थी एनओसी लिएर या नलिईकनै चिकित्सा शिक्षा अध्ययनका लागि विदेशिरहेका छन् ।
नेपालमा अध्ययन गर्नेमध्ये निजी मेडिकल कलेजमा १० प्रतिशत र सरकारी कलेजमा ७५ प्रतिशतले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न पाउँछन् । गत वर्ष चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययनका लागि कुल दुई हजार ९० सिट सङ्ख्या तोकेको थियो ।
चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले नेपालमा प्रवेश परीक्षामा पास भएकामध्ये केही विद्यार्थी विदेशमा गएर अध्ययन गरेको जानकारी दिए । उनले एमबिबिएस प्रवेश परीक्षामा अध्ययन गर्न पाउने सङ्ख्याको ३३ प्रतिशत विदेशी विद्यार्थीका लागि छुट्याउनुपर्ने प्रावधान रहेको बताए ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले नेपालमा एमबिबिएसका लागि दुई हजार जनाले अध्ययन गर्न पाए पनि ३३ प्रतिशत विदेशी विद्यार्थीलाई पढाउनुपर्ने बताए ।
निजी मेडिकल कलेजले कुल विद्यार्थीको १० प्रतिशत नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था दिनुपर्ने हुन्छ । अध्यक्ष डा. कार्कीले सरकारले दुई सेसनमा पढाउने व्यवस्था गरे नेपाली विद्यार्थीलाई ३० प्रतिशत छात्रवृत्तिको व्यवस्था गर्न सकिने जानकारी दिए । “एक सिफ्टमा विदेशी र अर्को सिफ्टमा नेपाली विद्यार्थीलाई अध्ययन गराउन सकिन्छ ।,”
डा. कार्कीले भने, “एमबिबिएसको सिट सङ्ख्या दुई सय बढाउने हो भने निजी मेडिकल कलेज ३० प्रतिशत छात्रवृत्ति दिन तयार छन् ।”
चिकित्सा शिक्षाको कोटा घट्दै गएको भन्दै उनले प्रवेश परीक्षा पास भएका विद्यार्थी करोडौँ खर्च गरेर चिकित्सा शिक्षा हासिल गर्न विदेशिनुपरेको बताए । नेपाली विद्यार्थी मात्र नेपालमै पढाउन सके करोडौँ रकम बिदेसिनबाट जोगिने उनको भनाइ छ । अध्यक्ष डा. कार्कीले नेपालमा विदेशी विद्यार्थी पढाएर वैदेशिक पुँजी भित्र्याउनतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले नेपाललाई ‘मेडिकल टुरिजम’ को रूपमा विकास गर्न विदेशी विद्यार्थी नेपाल ल्याउन सक्नुपर्ने बताए ।
नेपालमा एमबिबिएस अध्ययन गर्न आउने विदेशीमध्ये ९५ प्रतिशत भारतबाट आउने गरेका छन् । यसबाहेक अस्ट्रेलिया, अमेरिकाबाट समेत नेपालमा एमबिबिएसको अध्ययन गर्न आउने गर्दछन् । डा. कार्कीले नेपाली विद्यार्थीको सिट वृद्धि गर्ने, वार्षिक दुई चरणमा विद्यार्थी अध्ययन गराउने, विदेशी विद्यार्थीको सिट वृद्धि गर्ने, भर्ना प्रक्रियामा सहजीकरण गर्ने, नर्सिङ सिट थप गर्दा नेपालको चिकित्सा शिक्षामा सुधार गर्न सकिने बताए ।












