भारत भएर तेस्रो देश जान ‘एनओसी’ नचाहिने

Image

काठमाडौँ । श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अबदेखि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । सोमबार दिल्लीस्थित नेपाली दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीलाई भारतीय विमानस्थल प्रयोग गरेर श्रम गन्तव्य जाँदा एनओसी नचाहिने व्यवस्था लागु गरेको जानकारी गराएको हो ।

दूतावासका अनुसार साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई) ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनु पर्छ । वैदेशिक रोजगार विभाग र विभागमातहतका श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई भने एनओसी आवश्यक नरहेको सूचनामार्फत स्पष्ट पारिएको छ ।

त्यसै गरी नेपाली कूटनीतिक, आधिकारिक, सेवा राहदानी धारक, संयुक्त राष्ट्र सङ्घ लायसेज–पासर (युएनएलपी) भएका नेपाली नागरिक र १६ वर्षमुनिका नेपाली नाबालिगलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासको सूचनामा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि अबदेखि एनओसी चाहिँदैन । रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेबाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने हुन्छ ।

भम्रणका लागि एनओसी आवश्यक पर्ने नेपाली नागरिकलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातसहित तोकिएको मितिभन्दा कम्तीमा सात दिनअगाडि सम्पर्क गर्न दूतावासले सूचनामार्फत आग्रह गरेको छ । यात्रा एनओसीका लागि सेवा शुल्क प्रतिव्यक्ति एक हजार भारतीय रुपियाँ तोकिएको छ ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएपछि एयरलाइन्स कम्पनीले हवाई भाडा दोब्बरले बढाएका छन् । त्यसैले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले भारतको बाटो हुँदै श्रम गन्तव्य मुलुक जाने व्यवस्था गर्न अनुरोध गरेपछि सरकारले यो व्यवस्था लागु गरेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दैनिक औसतमा दुई हजार चार सयको हारहारीमा रहेको छ । दसैँतिहार मनाउन बिदामा आएर पुनः श्रम स्वीकृत लिएर जाने सङ्ख्या ठुलो छ ।

हवाई भाडा क्रमशः घट्छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन थालेपछि क्रमशः अहिलेको चाप कम हुने र हवाई भाडा पनि घट्ने दाबी गरे । सोमबार मन्त्रालयमा पत्रकारसँगको औपचारिक भेटघाट कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको चाप भैरहवाबाट उडान सुरु भएपछि कम हुने बताए ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई श्रम गन्तव्यसँग जोड्न श्रमसँग जोडिएका कार्यालयका शाखा विस्तारका लागि पनि प्रक्रिया सुरु गरेको मन्त्री भण्डारीले जानकारी दिए।

उनका अनुसार लुम्बिनी प्रदेश कार्यालयबाट श्रम स्वीकृतिको काम भए पनि म्यानपावर व्यवसायीका शाखा, प्रस्थानपूर्व लिइने अभिमुखीकरण तालिमका शाखा र एयरलाइन्सका शाखा नहुँदा काठमाडौँ आउनुपर्ने बाध्यता रहेकाले अब ती सबै शाखा विस्तार गर्ने तयारी छ ।

भैरहवाबाट उडान सुरु गरेका एयरलाइन्सका देशका भिसा सेन्टर र एयरलाइन्सका शाखा तुरुन्त स्थापना गर्न जानकारी गराएको पनि उनले बताए ।