डोजर चलाउँदा खसेको पहाडले बैतडी–दार्चुला सडक अवरुद्ध

Image

बैतडी । मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पत्ताल भूमेश्वरमुनि डोजर चलाउँदा पहाड खसेको छ । पहाडबाट खसेको सुक्खा पहिरोले बैतडी–दार्चुला जोड्ने दशरथचन्द लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेको स्थानमाथि चमेलिया जल विद्युत्को १५० मेगावाटको टावरसमेत धरापमा परेको छ । सडक अबरुद्ध हुँदा बैतडी–दार्चुला भएर आवतजावत गर्ने सवारी साधनबिच बाटोमै अलपत्र परेका छन् । सडक डिभिजन कार्यालयले सडकको मोड सुधार गर्ने योजनाअनुसार बैतडी–दार्चुला जोड्ने मुख्य लोकमार्ग पाटन नगरपालिका –४, जेउडेको मोडमा एक महिना अघिबाट ठेक्कामार्फत मोड सुधारको काम हुँदै आएको छ ।

केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहकै अवस्थामा आइतबार ५ः३० बजे अचानक सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा अबरुद्ध बनेको छ ।

एक्कासी पहिरो खस्दा स्थलगत निरीक्षणमा खटिएका कर्मचारी ज्यान जोगाएर भाग्न सफल भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख लक्ष्मणदत्त जोशीले बताए ।

पहिरो निरन्तर खसिरहेकाले सडक सुचारु गर्न नसकिएको उनले बताए । प्रहरी र सडकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्दा रातिको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले सोमबार पहिरो पन्छाउने काम थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

सडक अबरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधनबिच बाटोमै रोकिएका छन्, भने यात्रुहरु अलपत्र परेका छन् । दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सतबाँझ लगायतका बजार क्षेत्रमा सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

त्यसैगरी तराइका जिल्लाबाट आएका सवारी साधनका यात्रुहरुलाई पाटन बजारमा बस्न आग्रह गरिएको छ । सोही व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्याय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली यात्रु व्यवस्थापनमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गोरखपत्रबाट साभार