डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुराको पोखरामा उच्च धनराशी पुरस्कार भएको सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर पालिका महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
जिल्ला भलिबल संघ डडेल्धुराको आयोजनामा प्रतियोगिता हुन भएकाको हो । संघले शुक्रबार जिल्ला सदरमुकाम तुफानडाडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको छ ।
प्रतियोगिता यहीँ पुस १४ देखि १६ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । प्रतियोगितामा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहको सहभागी रहने आयोजनाको अपेक्षा छ ।
ग्रामीण क्षेत्रमा रहेका महिला खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराउन सक्ने बनाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको भलिबल संघका अध्यक्ष ठगुन्नाले बताए ।
‘ग्रासरूट बाटै खेलाडी उत्पादन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले हामीले यो प्रतियोगिता गर्न लागेका छौँ,’ उनले भने, ‘यस्ता प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर पनि हो ।’ अध्यक्ष ठगुन्नाले सुदूरपश्चिमका सबै स्थानीय तहलाई आफ्नो पालिकाको टिम पठाएर सहयोग गरिदिन आग्रह गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख १११ रुपियाँ नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने उनले जानकारी दिए । प्रतियोगितामा द्वितीय हुने टिमले ५१ हजार १११ रुपियाँ र तृतीयले २५ हजार १११ रुपियाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र दिईने छ ।
यसका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पाँ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट सर्भर र राइजिङ प्लयेरलाई जनही दुई हजार ५०० रुपियाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न सात लाख खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालय अन्तरगतको सुदूरपश्चिम खेलकुद परिषद्ले पाँच लाख दिने र बाँकी दुई लाख जिल्ला भलिबल संघले व्यहोर्ने संघका अध्यक्ष ठगुन्नाले बताए । उनका अनुसार प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका ७ पोखरास्थित उग्रतारा माविको खेल मैदानमा हुनेछन । टिम निःशुल्क दर्ता गरिने छन ।












