भागेश्वर गाउँपालिकाको कार्यपालिका बैठक बस्न सकेन, कारण यस्तो

Image

डडेल्धुरा । भागेश्वर गाउँपालिका कार्यपालिकाको बैठक ६ महिना देखि बस्न सकेको छैन । भागेश्वर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती सुरुवा भई गएपछि नयाँ प्रमुख प्रशासकिय अधिकृतमा हर्ष रोक्का आएका थिए । बैतडीको सुर्नाया गाउँपालिकाबाट सरुवा भई प्रमुख प्रशासकिय अधिकृत रोक्का भागेश्वर गाउँपालिकामा आएपछि कार्यपालिका बैठक बस्न नसकेको हो ।

आफुहरुसंग कुनै छलफल र समन्वय नै नगरि प्रमुख प्रशासकिय अधिकृत रोक्का गाउँ पालिकामा आएको भन्दै केही वडा अध्यक्षहरु रुष्ट भएका छन । यस अघिको जनप्रतिनिधिको कार्यकालमा उनी दुई वर्ष प्रमुख प्रशासकिय अधिकृत रहदा भागेश्वर गाउँपालिकावासी सन्तुष्ट थिएनन् । वडा नं. ३ का वडा अध्यक्ष डम्बरराज जोशीले भने, स्थानीयवासीको सहजताका लागी, खुसीका लागी गरिने काममा स्थानीयहरु नै असन्तुष्ट देखिएपछि कसरी काम गर्न सकिन्छ ? उनी डडेल्धुराको स्थानीय भए पनि उनको कार्यशैली प्रती भागेश्वरवासी जनता खुसी नभएको उनको भनाई छ ।

उनी भागेश्वर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सरुवा भई आउदा पनि कोही कसैसंग छलफल र समन्वय गर्नु भएन । वडा अध्यक्ष जोशीले थपे, उनी यहाँ आउदा आपत्ति होईन । छलफल र समन्वय नै नगरेर आएपछि जनताबाट पनि व्यापक गुनासो आएको छ । आपसी समझदारी गरेर अघि बढ्नु पर्ने उनले बताए ।

कार्यपालिका बैठक नबसे पनि योजना सम्झौताको काम नरोकिएको उनले बताए । जनताबाट आएका गुनासाका आधारमा कार्यपालिका बैठक बस्न नसकेपनि योजना सम्झौता लगायतका अन्य कामहरु भईरहेको उनले बताए ।

हाकिमको सरुवा माग्दै केही वडा अध्यक्षहरु भर्नामा भन्ने समाचारहरु प्रकाशित भएका छन । उनले भने, म लगायतका केही वडा अध्यक्षहरु अहिले संघिय राजधानी काठमाडौंमा छौ । हामिले हाकिमको सरुवा मात्रै हुनुपर्यो भनेर धर्ना दिएका छैनौ । नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा समक्ष भागेश्वर गाउँपालिकाका दिर्घकालिन गौरवका योजना ल्याएर आएका छौ ।

उनका अनुसार गुणस्तरिय शिक्षा, पर्यटकिय क्षेत्र भागेश्वर मन्दिरमा पूर्वाधार निर्माण, तपशीय क्षेत्र गर्गको महाकाली नदीमा झोलुंगे पुल, सडक, भारतसंगको नाका खोल्नु पर्ने, सुदूरपश्चिम प्रदेशबाट गाउँपालिकाको केन्द्र तोकिएर आएको महाभारत पर्वतको टप्प्वा बारेका योजना ल्याएर योजना माग गरिरहेको उनले बताए ।

तर गाउँपालिका अध्यक्ष हेमराज चटौतका अनुसार ६ महिना यता कार्यपालिका बैठक बस्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयनमा समस्या देखिएको छ । खास गरि विकास निर्माण योजनाका काम अलपत्र परेका छन् । बैठक नबसेकै कारण सडकका लागि आएको बजेटसमेत फिर्ता जानेसम्मको अवस्था सृजना भएको छ ।

भागेश्वर गाउँपालिकामा एक वडा अध्यक्ष बाहेक गाउँपालिकामा सबै जनप्रतिनिधीहरु नेपाली कांग्रेस पार्टीबाट निर्वाचित भएका थिए । कार्यपालिकामा नेपाली कांग्रेसको प्रष्ट बहुमत छ । तर, आपसि समझदारि नुहदा कार्यपालिका बैठक बस्न सकेको छैन ।

भागेश्वर गाउँपालिकामा गत भदौंसम्म खगेन्द्र भारती प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । त्यस अघि भागेश्वरकै प्रमुख प्रशासकियबाट सरुवा भई उनी जिल्ला प्रशासन कार्यालय कञ्चनपुर गएका थिए । करिब एक वर्ष पछि फेरी सरुवा भई भागेश्वर गाउँपालिकामै आएका थिए । देशको स्वरुप संघियतामा जाँदा २०७४ मा पनि यहाँ भारती नै प्रमुखप्रशासकिय अधिकृतका रुपमा थिए । उनीपछि हाल आएका प्रमुख प्रशासकिय अधिकृत रोक्का आएका थिए ।