कैलाली । सुदूरपश्चिम प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्यको नियुक्ति गरिएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र दुई जना सदस्यलाई पद रिक्त भएको पाँच महिना पछि नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले डा. जीवन रानालाई उपाध्यक्षमा नियुक्त गरेको छ । राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग प्रमुख हुन ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ की रानाले विद्यावारिधि गरेकी छन भने नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गरेकी छन ।
यस्तै बिहीबारको प्रदेश मन्त्रिपरिषद् बैठकले सदस्यमा डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारीलाई नियुक्त गरेको छ । भण्डारी काँग्रेस डडेल्धुराका सचिव हुन् भने चन्द एमाले सुदूरपश्चिममा पूर्व प्रदेश कमिटी सदस्य हुन् ।
उपाध्यक्ष रानालाई सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तथा गोपनीयताको शपथ गराए । सदस्य डा. चन्द र भण्डारीलाई उपाध्यक्ष रानाले शपथ ग्रहण गराईन ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले योजना आयोगको गठनादेशमा केही संशोधन गर्नु पर्ने भएकोले नियुक्तिमा केही महिना ढिलो भएको बताए । नयाँ सरकार गठन भएपछि श्रावण महिना देखि सरकारले छलफल गर्ने सकेको थिएन अव प्रदेशको योजना तर्जुमा लगायतका विषयमा छलफल अगाडि बढ्ने उनले बताए ।












