भ्रातृ संस्थाको महाधिवेशन नहुदा पार्टीमा असर पुग्योः नैनसिंह महर

Image

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन् ।

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणकासाथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुगेको बताए ।

महाधिवेशन प्रक्रिया रोकिदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथिसमेत प्रश्न उठ्ने गरेको उनले औंल्याए । लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो । यो प्रक्रियाबाट पार्टी र भ्रातृ तथा सुवेच्छुक संस्थालाई बाहिर्‍याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ । लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ । जनता पनि कमजोर हुन्छन्, उनले भने ।

यस विषयमा पार्टीको निर्णायक तहमा बसेका पदाधिकारी गम्भीर बन्नुपर्ने उनको भनाइ छ । महाधिवेशनका लागि गठित निर्देशक समितिले जिम्मेवारी लिन प्रतिवद्ध देखिए पनि नेतृत्व प्रतिवद्ध नदेखिएको उनले औंल्याए ।

समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ । पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले नै हो । समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन, उनले भने ।

चैत महिना भित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुनेमा महरको जोड छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन ।