काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएकी छन ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी यही फागुन २ गते ओमन प्रस्थान गरेकी थिईन ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरूलाई जानकारी गराउँदै मन्त्री डा. देउवाले सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको उक्त सम्मेलनमा आफूले नेपालका तर्फबाट सहभागी भई सम्बोधन गरेको बताईन ।
सो सम्मेलनमा हिन्द महासागरीय क्षेत्रका ४० देशका विदेश मन्त्रिस्तरीय सहभागिता रहेको थियो । सो सम्मेलनमा उनले ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने सम्बन्धी सत्रलाई सम्बोधन गरेकी थिईन ।
यस भ्रमणका क्रममा मन्त्री डा. देउवाले भारतीय विदेशमन्त्री डा. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिईन । त्यसैगरी उनले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री, सम्पदा तथा पर्यटनमन्त्रीका साथै इरान, संयुक्त अरब इमिरेट्स र श्रीलङ्काका विदेशमन्त्री एवम् जापानका विदेश राज्यमन्त्रीसँग साइडलाइन भेट गरेकी थिईन ।
इरानका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा मन्त्री डा. देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरिन ।
त्यसैगरी जापानका विदेश राज्यमन्त्रीसँगको भेटमा नेपालमा गत असोजमा आएको बाढीका कारण क्षति पुगेको विपी राजमार्गको पुनर्निर्माणका लागि सहयोग गर्न आग्रह गरेकी थिईन भने युएई, श्रीलङ्का र ओमनका विदेशमन्त्रीसँगको भेटका क्रममा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न सम्बद्ध देशहरूलाई आग्रह गरिन ।
यस भ्रमणका क्रममा नेपाल र ओमनबिच कूटनीतिक तथा पर्यटन क्षेत्रका दुई छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर पनि भएको थियो ।
‘ओडिसाको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो’
यसैबिच मन्त्री डा. देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको जानकारी दिईन ।
यस विषयमा हिजोमात्र पनि आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिईन ।
भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराईन ।
मन्त्री डा. देउवाले भनिन् “उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौँ । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरूबिच समन्वय गर्यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।”
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग नेपालले गरेको छ ।
यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री डा. देउवाले दिईन ।
एक प्रश्नको जवाफमा मन्त्री डा. देउवाले नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर सबैको तथ्याङ्क परराष्ट्रसँग नरहेकाले आगामी दिनमा यस्तो तथ्याङ्क परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिएमा उनीहरूको उद्धारका लागि सजिलो हुने बताईन ।
उनले भनिन् “नेपालीहरू को कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा परराष्ट्रलाई थाहा छैन, तर समस्यामा परेपछि र उद्दार गर्नुपर्ने भए पछि थाहा हुन्छ । त्यसपछि लगत्तै उनीहरूको उद्दार गर्नका लागि परराष्ट्रसँग पर्याप्त जनशक्ति पनि छैन । यसकारण पनि समस्या भई रहेको छ ।”












