काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । कांग्रेसको सूचना संचार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले समयमै महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
उनले १५औं महाधिवेशन विधान अनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टी सामू रहेको बताए । समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ(आफ्नो भूमिका कुसलतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेका छन् ।
अब महाधिवेशनको १० महिना मात्र बाँकि छ। तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम कारबाही गम्भिर नदेखिएको आम नेता कार्यकर्ताको बुझाइ छ । उनले भने ।
कांग्रेसको राष्ट्रीय र अन्तराष्ट्रिय स्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधिक निर्वाचन भएकाले त्यसलाई पार्टीले जिवन्त तुल्याउनुपर्ने उनको धारणा छ । लोकतन्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने उनले बताए ।
बहुदलीय लोकतान्त्रिक प्रणालीमा शासन गर्ने दलहरूका नेतारकार्यकर्ताले भएकाले शासन सञ्चालन गर्ने दल आफैँमा पारदर्शी हुने, नैतिकवान हुने, भिजनरी हुने कुरा महत्त्वपूर्ण हो । उनले भने, त्यो भएन भने सरकारमा जाँदा शासन पनि नैतिकवान हुँदैन । त्यस्तो पार्टी बनाउन पनि हामीले आवधिक निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ ।
नेता महरले सरकार सञ्चालनका लागि बनेको पार्टी संयन्त्रको गति धिमा भएकाले गति बढाउन सुझाव दिएका छन् । फरक प्रसंगमा बोल्दै महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा मिस इनफरमेसन र डिस इन्फरमेसनबाट जनतालाई सजग गराउन प्रविधिको विकाससँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताए । आर्टिफिसियल इन्टिजेन्सको समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको धारणा छ ।
युवा र जनतालाई प्रविधिमा दक्ष बनाउने काममा राजनीतिक दलसँगै सरकार पनि गम्भीर भएर लाग्नुपर्छ, उनले भने ।
यस्तै नेता महरले सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने धारणा राखेका छन् । महरले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा काँग्रेसको समर्थन नहुने बताएका हुन् । ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन । उनले भने, सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुन हुँदैन । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन नहुने उनले बताए ।












