कहि सूचना पुगेन कही वास्ता नगर्दा जोखिम बढी भयोः कानुनमन्त्री सार्की

Image

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् जोखिम न्यूनीकरणसम्बन्धी सूचना प्रवाह हुदै हुदै पनि वास्ता नगरिदा गएको मनसुनका बढी क्षती भएको बताए ।

धनगढीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका सवलीकरण कार्यक्रममा उनले नेपाल सरकारका विभन्न निकाय र सञ्चारकर्मीले सूचना प्रवाह गर्दा गर्दै कतिपयले वास्ता गरेनन् । उनले भने, कहि कतै ग्रामिण भेगमा सूचना नपुगेकाले मनसुनमा बढी क्षती भयो । विपदको जोखिम न्यूनीकरण गर्न सशक्त हुनु पर्ने उनको भनाई छ ।

मन्त्री सार्कीले सुदूरपश्चिममा विपद्को उच्च जोखिम रहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे ।

उनले भने, “विपद् र विपद् जोखिम न्यूनीकरणसम्बन्धी समुदायलाई सजग गराउनेदेखि लिएर सरकारलाई घचघच्याउने कार्य पत्रकारले गर्नु पर्दछ ।”

मन्त्री सार्कीले विपद्बाबाट धन सम्पत्तिको क्षति रोक्न नसके पनि समयमै उपयुक्त सूचना प्रवाह गरेर मानवीय क्षति रोक्न सकिने उल्लेख गरे । उनले बाढी विपद्को कारक मानिस नै रहेको बताए । “पानी निकासको बाटो ब्लक भएको छ । त्यसले विपद्को सामना गर्नु परिरहेको छ”, सार्कीले भने ।

कार्यक्रममा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनबारे बुझाउने दायित्व पत्रकारको रहेको बताए । उनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बनेको नयाँ नीतिबारे मिडिया जगतले जनतालाई बुझाउनु पर्ने उल्लेख गरे ।

यसैगरी, कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पत्रकारले सशक्त भूमिका निर्वाह गर्नु पर्ने औंल्याए ।

राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रलायले आयोजना गरेको सवलीकरण कार्यक्रममा कैलाली, कञ्चनपुरमा कार्यरत पत्रकारको सहभागिता रहेको छ ।