सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल आउने वातावरण बनाऔंः नैनसिंह महर

Image

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाउनु पर्ने बताएका छन ।

राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता महरले यस्तो धारणा राखेका हुन् ।

महरले सरकारलाई बजेटमा यथोचित व्यवस्था गरेर विदेशी विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिए । यस प्रकारको छात्रवृत्तिले नेपालको अन्तराष्ट्रीय सम्म्बन्ध मजबुत बनाउनुकासाथै शिक्षा प्रणालीमा विश्वासनीयत समेत निर्माण गर्न मद्दत पुग्छ । उनले भने, शिक्षा भूराजनितिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण कडी बनेको छ। यस क्षेत्रमा सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ ।

नेपाललाई एक प्रमुख शिक्षा हब बनाउनका लागि महरले केही महत्त्वपूर्ण पक्ष प्रस्तुत गरेका छन् । उनले नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीति प्रमुख फाइदाका रूपमा रहेको बताए ।

भारत र चीन जस्ता ठूला मुलुकको नजिक रहेको नेपालले व्यापारिक सम्भावना तथा शिक्षा क्षेत्रमा ठूलो योगदान दिन सक्छ । नेता महरले भने, नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षा जस्ता क्षेत्रमा अध्ययन तथा अनुसन्धानको ठूलो अवसर प्रदान गर्न सक्छ ।

उनले नेपालले सही रणनीति र योजनासँग विश्वस्तरीय शिक्षा प्रदान गर्न सम्भव रहेको धारणा राखेका छन् । शिक्षा क्षेत्रमा सही मार्गदर्शन र संशाधनको प्रयोग गरेर नेपाललाई विश्वभरका विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ ।

यसकासाथै उनले अधिकारको आन्दोलनसँगै कर्तव्य निर्वाहमा नचुक्न निजी क्षेत्रलाई सुझाव दिए । समाजको हरेक वर्ग आफ्नो अधिकारको संघर्षमा छ। अरुको अधिकारको चिन्ता देखिँदैन । कर्तव्य निर्वाहमा पनि कन्जुस्यायी देखिन्छ । थाति रहेको विद्यालय शिक्षा विधेयकमा पनि सबैले अधिकार मात्र खोजिरहनु भएको छ, उनले भने ।

विधेयक पास गर्नका लागि अधिकारका सवालमा सबैले थोरै आफ्नो तर्फबाट सम्झौता नगरे विधेयक ठिक ठाउँमा नपुग्नेमा शंका व्यक्त गर्दै नेता महरले यस्तो बताएका हुन् । त्यसैले विधेयक पास गर्न सबैको दबाबका साथै केही सम्झौता पनि आवश्यक रहेको उनको धारणा छ ।

नेता महरले निजी क्षेत्रको लगानी सुरक्षाका सवालमा कांग्रेस दृढ र प्रतिवद्ध रहेको बताए । कांग्रेस खुला बजारमा विश्वास गर्ने पार्टी हो । थ्री (पी) पब्लिक प्राइभेट पार्टनरसिप अवधारणाबाट कांग्रेस एक इन्च पछि हट्दैन, उनले भने ।

निजी क्षेत्रको लागनी सुरक्षा प्रत्याभूत गराउने सवालमा पार्टी सभापति शेरबहादुर देउवा पनि गम्भीर रहेको उनले प्रस्ट पारेका छन् । सभापति देउवासँग शिक्षा क्षेत्रको लगानी सुरक्षाका विषयमा आफूहरूको छलफल भएको र त्यस विषयमा सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रस्ट पारेको महरले स्मरण गरे ।

ुहाम्रो पार्टी सभापतिज्यूले म नेपालको प्रधानमन्त्रीसँग कुरा गर्छु । नेपालको संविधानले निजी लगानीको ग्यारेन्टी गर्ने भनेको छ। त्यसकारण कांग्रेस त्यसभन्दा पछाडि फर्किन सक्ने अवस्था छैन । प्रधानमन्त्रीसँग कुरा गरेर शिक्षा विधेयकमा निजी क्षेत्रको लगानीको आश्वस्तताको विषय पूरा गर्छु भन्नु भएको छ, महरले भने । उनले निशंकोच शिक्षा क्षेत्रको समृद्धिका लागि काम गर्न सुझाव दिएका छन् ।