ताप्लेजुङ । परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ–टिपताला सडक कालोपत्रे गर्नका लागि चीनसँग प्रस्ताव राख्न अनुरोध गरेका छन । एमाले सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य भट्टराईले सोमबार परराष्ट्रमन्त्री राणालाई भेट गरी उक्त प्रस्ताव राख्न अनुरोध गरेका हुन ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपटलासम्म ८५ किमी सडक विस्तारसहित कालोपत्रे गर्न नेपाल सरकारका तर्फबाट चिनियाँ सरकारसँग औपचारिक प्रस्ताव अघि बढाउन मन्त्री राणासमक्ष भट्टराईले आग्रह गरे । सडक कालोपत्रे र आवश्यक पुल (मोटर गुड्ने पुल) निर्माणका लागि चीन सरकारको सहयोग लिन सरकारले छलफलको प्रक्रिया अघि बढ़ाउनुपर्ने भट्टराईले उल्लेख गरे ।
भट्टराईले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्तावसहितको कागजात परराष्ट्रमन्त्री राणालाई बुझाए । ताप्लेजुङ–टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्ताव गर्ने कागजात बुझ्दै मन्त्री राणाले पनि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
निर्माणाधीन तमोर कोरिडोरअन्तरगत भर्खरै टिपतालासम्म ट्रयाक जोडिएको सडक कालोपत्रे भएमा जिल्लाको विकासले फड्को मार्नेछ । जिल्लाको पूर्वाधार विकाससँगै टिपताला कञ्चनजङ्घा हिमशृङ्खला नजिक पर्ने भएकाले सडक कालोपत्रे हुँदा पर्यटन प्रवर्द्धन र विकासमा पनि वृद्धि हुनेछ । यो सडक भारतको सिमाना जोगबनी रानी हुँदे तिब्बत जोड्ने त्रिदेशीय सडक सञ्जालको रुपमा छ ।












