स्ववियु चुनावः भ्रामक दुस्प्रचारको पछि नलाग्न नेविसंघको आग्रह

Image

डडेल्धुरा । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराले भ्रामक दुस्प्रचारको पछि नलाग्न आग्रह गरेको छ । देशभर स्ववियु निर्वाचनको प्रक्रिया चलिरहेकाबेला नेविसंघको अगुवाईमा विद्यार्थीहरुको हकहितका लागि स्थापित स्ववियुको निर्वाचन पद्धतिमा नेपाल विद्यार्थी संघ सदैव गर्व गर्दछ, सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघ डडेल्धुराले भनेको छ ।

नेविसंघ जिल्ला अध्यक्ष पवन ऐरद्धारा जारि विज्ञप्तिमा विभिन्न खालका भ्रम सृजना गरी स्वतन्त्रतापूर्वक अभिमत प्रकट गर्ने, स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास भईरहेको छ ।

नेविसंघ डडेल्धुराले यस्ता भ्रामक दुस्प्रचारको पछि नलागी स्वतन्त्रता, समानता, लोकतन्त्रका पक्षमा कटिवद्ध भई आफनो विवेक प्रयोग गरि स्ववियु निर्वाचन सभ्य भव्य रुपमा सफल पार्न आह्वान गरेको छ ।

स्ववियु निर्वाचन चलिरहेकाबेला सामाजिक सञ्जालमा आएको अडियो रेकर्ड केहि कमजोर मानसिकता बोकेकाहरुबाट नभएका कुराहरु ल्याईएको अध्यक्ष ऐरले बताए । उनले भने यसमा कुनै सत्यता छैन, यो चुनाव बिथोल्ने षडयन्त्र हो ।

नेविसंघले अहिलेसम्म भोट किन्ने वा भौगोलिक रुपमा विभाजन गर्ने कार्य इतिहासमै कहिल्यै नगरेकोले कुनै व्यक्ति र समुहले भ्रम सृजना गर्ने र चुनावी रणनिती तय गर्ने योजना बनाएको नेविसंघका एक नेताले बताए । अध्यक्ष ऐरले सार्वजनिक गरिएको अडियो एडिट गरेको दाबि गरेका छन ।

उनले थुप्रै उदाहरण दिदै भने, यस्तो अडियो जसले पनि बनाउन सक्छ । तर नेविसंघले कुनैपनि जिल्लाका विद्यार्थीहरुका लागि होस्टेलको व्यवस्था गरेका कुरा, बेखर्चि हुँदा समस्या टारेका कुरा, क्याम्पसको विकासकालागि गरेका कुरालाई कसैले ल्याउन सकेको छैन । त्यो नेविसंघले मात्रै गरेको छ । भ्रामक कुरालाई छरेर भन्दापनि वास्तविकतालाई हेरेर ढुक्क संग मतदान गर्न नेविसंघले आग्रह गरेको छ ।

भोली चैत ५ गते देशभरका त्रिभुवन विश्व विद्यालय (टियु) अन्तरगतका क्याम्पसमा स्ववियु निर्वाचनकालागि मतदान हुदै छ । डडेल्धुरामा तीन पक्षका विद्यार्थीहरु चुनावी मैदानमा छन ।

नेविसंघका तर्फबट अध्यक्ष पदमा गौरव ऐरको समुह, अनेरा स्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ वीपी काँग्रेसको संयुक्त प्यानलबाट मदन बोहराको समुह र स्वतन्त्र विद्यार्थी समुहबाट कर्ण बहादुर धामीको समुह उम्मेदवारका रुपमा रहेका छन ।