बसुनागाड पुल बारे भ्रम छरेको भन्दै काँग्रेसको ध्यानाकर्षण

Image

डडेल्धुरा । उग्रतारा-मेलौली सडक खण्डको बसुनागाडमा मोटरेवल पुल निर्माणको विषयमा भ्रम फैलाई सामाजिक संजालमा प्रचार प्रसार गरिएको भन्द्र नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

अजयमेरु गाउँपालिका– २ को विकास निर्माण सम्बन्धी विभिन्न भ्रामक सामाग्री प्रचार प्रसार भइरहेको भन्दै नेपाली कांग्रेस अजयमेरु गाउँपालिका वडा नं २ ले कडा आपत्ति जनाएको हो ।

सामाजिक सञ्जालमार्फत पार्टीका सभापति र केही शीर्ष नेताहरूलाई लक्षित गरी निराधार र भ्रामक प्रचार गरिएको वडा सभापति प्रयाग कोलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  त्यसरी नकारात्मक भास्य निर्माण गर्नुले परिस्थितिलाई धमिल्याउने मात्र काम गरेको उनको ठहर छ।

विकास निर्माणका कामहरू नगरेको, केही भएको छैन, केही गरिँदैन भन्ने प्रकारका आरोपहरू पूर्णतः पूर्वाग्रही र भ्रामक रहेको विज्ञप्ति मार्फत भनिएको छ । 

त्यस्ता विषय उठाउने नेताहरू स्वयं पनि जिम्मेवार तहमा रहिसकेका व्यक्ति रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ । ‘आफू नेतृत्वमा हुँदा केही नगर्ने, अरूको बदनाम गर्दै आत्मप्रचार मात्र गर्ने प्रवृत्ति हावी भएको देखिन्छ ।’

त्यसैगरी, निर्वाचित जनप्रतिनिधिहरूलाई निषेध गर्ने प्रवृत्तिप्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । लोकतान्त्रिक मूल्य र मान्यताको अपमान गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिने कार्यलाई निन्दनीय भन्दै पार्टीले सम्बन्धित पक्षलाई आफ्ना अभिव्यक्ति सच्याउन र सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ ।

यस बारे सुदूरपश्चिम प्रदेश अर्थ मन्त्रालयमा बुझ्दा बसुनागाड खोलामा मोटरेवल पुल निर्माणका लागि वहुवर्षीय वोलपत्र आह्वानको श्रोत सुनिश्चितताका लागि उच्च प्राथमिकतामा राखिएको जानकारी प्राप्त भएको छ । अबको केही दिन भित्रै टेन्डर आह्वान गरिने भएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button