डडेल्धुरा । जिल्ला सदरमुकाममा एक लाख पुरस्कार राशीको महिला भलिबल प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको पाँच लाख रुपियाँ लागतमा पहिलो पटक उच्च धनराशीको महिला भलिबल प्रतियोगिता सुरु भएको हो । स्वं महिला मन्त्री द्धारीकादेवि ठकुरानीको स्मृतीमा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । उनी एसियाकै पहिलो महिला मन्त्री बनेकी थिईन ।
अमरगढी नगरपालिका ४ टुखीखेल स्थित जिल्ला खेलकुद विकास कार्यालयको प्रांगणमा जिल्ला भलिबल संघले प्रतियोगिताको आयोजना गरेको भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार सुदूपश्चिम प्रदेश स्तरीय अन्तर पालिका महिला भलिबलको आयोजना गरिएको हो । प्रतियोगितामा डडेल्धुरालगायत अन्य जिल्लाहरुका गरि जम्मा ६ वटा टिमको सहभागिता रहेको छ ।

शुक्रवार प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जिल्लामा खेल मैदानको आवश्यकता रहेको उल्लेख गर्दै आउदो बजेटमा खेल मैदान निर्माणका लागि रकमको सुनिश्चिता गर्ने बताईन । यस अघि भएको अन्तरपालिका स्तरिय महिला भलिबल प्रतियोगिताको फाईनलमा आफु उपस्थित भएको र खेल क्षेत्रमा महिलाको विकासका लागि यस वर्ष पाँच लाख रकमको योजना बनाई प्रतियोगिता संचालन गर्न सफल भएको उनले जानकारी दिईन ।
भलिबल ईनडोर खेलिने प्रतियोगिता हो । उनले भनिन्, हाम्रो जिल्लामा ईनडोर खेलाउन आवश्यक पूर्वाधार छैन् । तर पनि हाम्रा युवतीलगायत युवाहरु भलिबल खेल तर्फ निकै आकर्षित छन । राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडीहरु पनि यस जिल्लाले जन्माएको छ । आगामी बजेट आउदासम्म म राज्यमन्त्रीमा भए पनि नभएपनि भलिबल खेलकालागि आवश्यक पूर्वाधार निर्माण गर्न रकमको माग गर्ने छु । हामि सबैले खेल मैदान निर्माणका लागि आ आफ्नो क्षेत्रबाट पहल गरौ । मेरो यही आग्रह छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नेपाल सरकारको नारा नै रहेको उल्लेख गर्दै उनले युवालाई खेलकुदमा जोड्न सके लागु पदार्थ दुव्र्यसनी र अपराधिक घटनाबाट टाढा राख्न सकिने बताईन । कुलतमा नलाग्न उनले युवाहरु लाई आग्रहसमेत गरिन ।












