डडेल्धुरा । जिल्ला सदरमुकामको टुडिखेलमा सम्पन्न द्वारिकादेवी ठकुरानी सुदूरपश्चिम प्रदेश अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका कैलालीले जितेको छ । आइतबार अपरान्ह भएको फाइनल खेलमा नौगाड गाउँपालिका दार्चुलालाई हराउँदै चुरेले उपाधि जितेको हो ।
चुरेले फाइनलमा नौगाडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि जितेको जिल्ला भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार उपाधि जितेको चुरेले एक लाख एक सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको नौगाडले ५१ हजार एक सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा अमरगढी नगरपालिका डडेल्धुरालाई हराउँदै डडेल्धुराकै परशुराम नगरपालिका तृतीय भयो । उसले २५ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष ठगुन्नाले बताए ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको पाँच लाख रुपैयाँ बजेटमा जिल्ला भलिबल संघ डडेल्धुराले शुक्रबारदेखि प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगितामा डडेल्धुराका तीन, बैतडी, दार्चुला र कैलालीका एकरएक गरी ६ टिमको सहभागिता जनाएका थिए ।












