डडेल्धुरा । अतिरुद्र विश्वकल्याण महायज्ञको आयोजना गरेसंगै शैलेश्वर महादेव मन्दिर धामका रुपमा विकास हुने अपेक्षा लिईएको छ । शैलेश्वर महादेव मन्दिरमा हालसम्म श्रीमद भागवतलगायतका तीन वटा यज्ञको आयोजना गरिए पनि पहिलो पटक अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरिएको छ । महायज्ञमा भक्तजनहरुको घुईचो, दानवीरहरुको बाक्लो उपस्थितीले शैलेश्वर महादेव मन्दिर क्षेत्र धामका रुपमा विकास हुने अपेक्षा गरिएको हो ।
करिब ६० लाख रकम खर्च हुने आंकलन गरि चैत २० गतेदेखि ३० गतेसम्म ११ दिनका लागि आयोजना गरिएको महायज्ञमा बुधवार आठौं दिनसम्म ९८ लाखबढी दानभेटी जमा भएको छ । पहिलो पटक आयोजना गरिएको अतरुद्र विश्वकल्याण विराट महायज्ञमा ठूलो मात्रामा जग्गा दान, तुला दान, भेटीचंदा संकलन र भक्तजनहरुको घुईचोले शैलेश्वर अब धामका रुपमा नै विकास हुने अपेक्षा प्रबल बढेको महायज्ञका प्रमुख आचार्य जयप्रसाद जोशीले बताए ।
उहाँका अनुसार कैलाश पर्वतबाट विहारमा निस्केर अलप भएका भगवान शिव र माता पार्वतीशैलेश्वर धाममा भेटिएको मानसखण्डमा वर्णन गरिएको पाईन्छ । विभिन्न हिन्दुधर्म ग्रन्थमा वर्णन गरिए अनुसार भगवान शिव र माता पार्वती अलप भएपछि भगवान हिमालय आफै खोज्नका लागि निस्कनु भएको थियो । रेणुका नदी र शैल्य नदीको किनारमा पुगेर स्नान गर्दा यहाँ शिवगण भेटिए । शिवगणले माता पार्वतीलाई जानकारी दिनुहोस कि उहाँ विश्वनाथ क्षेत्रमा विराजमान हुनुहुन्छ भनेर भन्यो । र त्यसै राती भगवान हिमालयले शैलेश्वरमा आएर ज्योतिर्लिंग स्थापना गरे ।
डडेल्धुराको जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ७, ८ र नवदुर्गा गाउँपालिका १ को संगमस्थल शैलेश्वर धाम क्षेत्र आरध्यदेव भगवान शिवको घरका रुपमा लिईने मानसरोवर कैलाश पर्वत जति नै धार्मिक आस्था रहेको आचार्य जयप्रसाद जोशीले बताए । सल्लागडा (मल्लिगाड) भनेर प्रख्यात शैलेश्वर धाममा अमरगढी नगरपालिका ५,६,७,८,९ संगै अजयमेरु गाउँपालिका १, नवदुर्गा गाउँपालिका १ का सयौँ गाउँहरुको चिहान हो । सल्लागढा मसान ठूलो मसान हो । यसक्षेत्रका मानिसहरुको अन्तिम संस्कार गरिने भएकाले ठूलो महत्वाका साथ स्थानीयले लिने गरेका छन । यो मसान काशीविश्वनाथ बनारसमा दर्ता भएको मसान घाट रहेको उनले बताए ।
शैलेश्वर धाममा नेपालको सबैभन्दा बढी लघुरुद्राभिषेक र रुद्रको पाठ हुने भएकाले अतिरुद्र विराट महायज्ञको आयोजना गरिएको आचार्य जोशीले बताए । उनका अनुसार यसको दर्शन गर्दा संसारका सृष्टिकर्ता ब्रह्मा र पालन कर्ताको रुपमा जसले दुःखलाई नास गर्दछ र कल्याणको मार्ग देखाउछ त्यो रुद्र हो । त्यो रुद्र यहाँ भएको हुनाले यस रुद्रलाई प्रसन्न पार्न सक्यौ भने जगत प्रसन्न हुन सक्दछ भनेर तमोमयी रुपमा पूजन गरिएको उनले बताए ।
महारुद्रको ११ आबृति अर्थात १४ हजार ६४१ आबृति पाठ गराउनुपर्ने हुन्छ । उनले भने, यो पाठ १०० जना ब्राहमणद्धारा ११ दिनसम्म पुगाउन सकिन्छ । तर अहिले ५१ जना ब्राहमणद्धारा यो पाठको संख्या पुरगाउदै ११ दिनसम्म यो महायज्ञ चल्ने छ ।
अमरगढी नगरपालिकाले १० लाख रुकम विनियोजन गरि यज्ञ मण्डपलगायत भौतिक पूर्वाधारहरु निर्माण गरेको क्षेत्र विकास समिति अध्यक्ष एवं वडा नं. ७ का वडा अध्यक्ष खडक बोहराले जानकारी दिए । उनका अनुसार बाँकी सबै खर्च भेटीबाट संकलन गर्नु पर्ने चुनौती आयोजक शैलेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति र मूल आयोजक समितिको थियो ।
महायज्ञको आयोजना गरेसंगै दानवीरको ओईरो लागेको उनको भनाई छ । यज्ञको खर्च काटेर बाच्ने रकमले मन्दिर पुनर्निमार्ण संगै नदी किनारमा स्नानका लागि संरचनाहरु निर्माण गर्ने योजनामा रहेको उनको भनाई छ ।












