विश्वका संकटसँग जुध्न युवा तयार हुनुपर्छः कांग्रेस नेता महर

Image

काठमाडौं । विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनु पर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिएका छन् । कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको युथ भिजन २०३५ मा युवा सरोकारु विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन् । उनले भने, विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ । यी तीन विषयको सन्तुलनमा ध्यान नदिएमा भोली विश्वले महासंकट बेहोर्नुपर्ने हुन सक्छ । त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोवल पोलिसी निर्माण आजको आवश्यकता हो । र युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ ।

प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवस्यकता भएको उनको ठहर छ । जनसंख्या बृद्धिले जैविक विविधता भइरहेको छ । जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ । उनले भने, यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ। यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आंकलन गरिदै छ । त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्ने उनले बताए ।

नेपालका युवाका लागि स्थापना गरिएको सर्टीफिकेट धितो राखेर ऋण लिने व्यवस्थाको कार्यान्वयन नहुदा र युवा स्वरोगारको प्रभावकारिता नहुदा अन्यौलता थपिएको महरले बताए ।

एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान, प्रविधिको उचित ज्ञानले भरिपुर्ण हुनु पर्ने महरले औंल्याएका छन् । युवाले मेरो र मेरो सन्ततिको भविश्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताए ।

नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छ। अबको युवालाई प्रविधि युक्तसमेत बनाउनुपर्छ । जिएन्जी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको बढ्दै पढाउँदै अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ, उनले भने।

युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताए । युवा पनि राष्ट्र प्रेमले ओतप्रोत हुन आवस्यक रहेको उनले औंल्याए । दिनहुँ समय फेरिँदो । आधुनिकिकरण बढ्दो छ । उनले भने, युवालाई सोही अनुरुपको शिक्षा दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको हुन प्रेरित गर्नुपर्छ। र, उनीहरूलाई वातावरण सन्तुलनमा पनि प्रेरित गर्नुपर्छ ।

उनले पाठ्यक्रम नै युवा मैत्री हुनुपर्ने बताएका छन् । विश्वमा व्याप्त समस्या समाधानमा युवाहरूले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समाविष्ट हुनुपर्नेमा महरको जोड छ ।