डडेल्धुरा । डकले बसपार्क निर्माणका लागि रुख कटान सुरु गरिएको छ । अमरगढी नगरपालिका ८ स्थित डकलेमा निर्माण गरिने बसपार्क क्षेत्रमा रुख कटानीको आदेश नहुदा निर्माणको काम सुरु हुन सकेको थिएन । रुख कटानी ओदश पाएको एक वर्ष बित्दासमेत क्षतीपूर्ती वाफतको रकम अभावले निर्माणको काम सुरु हुन ढिलाई भएको अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले जानकारी दिए ।
उनका अनुसार गत चैत महिनाको दोस्रो साता रुख कटानीको क्षतीपूर्ती वाफतको झण्डै एक करोड ११ लाख रकम नेपाल सरकारको वन विकास कोषमा जम्मा गरेपछि हाल रुख कटान सुरु गरिएको हो । रुख कटानीसंगै अब बसपार्क निर्माणको काम पनि सुरु हुने उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा सदरमुकाममा व्यवस्थित बसपार्क निर्माणका लागी २०७९ जेठ महिनामा १६ करोड ५० लाख लागतको ठेक्का आह्वान भएको थियो । तर बसपार्क निर्माण गरिने डकलेको सरौलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्यांकन नगरेरै टेण्डर आह्वान गरिए पछि सम्झौता हुन सकेको थिएन ।
गत वर्ष वैशाख महिनामा मात्रै मन्त्री परिषदले निर्णय गर्दै रुख काट्नका लागि अनुमती दिएको थियो । तर पनि क्षतीपूर्ती वाफतको रकम भने कुनै निकायबाट विनियोजन गरिएको थिएन । गएको चैत महिनामा अमरगढी नगरपालिकाले क्षतीपूर्ती वाफतको रकम जम्मा गरेपछि अब जिल्ला सदरमुकाम बागबजारबाट पाँच किलोमिटर टाढा महाकाली राजमार्गको छेउ उग्रतारा मन्दिर नजिकै डकलेमा व्यवस्थित बसपार्क बन्ने भएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहका अनुसार रुख कटानको अनुमति पाए पछि उक्त क्षेत्रमा टाँचा लगाईएका ५६ रुख (३० सेन्टिमिटर भन्दा मोटाईका), पोल वा बल्लाबल्ली २२९ र विरुवा ५५३ कटान गरिदैछन ।
डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले २०७९ साल जेठ महिनामा १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वानपछि घटाघटमा साढे १३ करोडमा ठेक्का स्विकृत भएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग कैलालीका प्राबिधि दिपक ओझाका अनुसार बसपार्क निर्माणका लागि कालिका–मालिका–युपी जेभिसंग ठेक्का सम्झौता भएको छ ।
बसपार्क निर्माणका लागि सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसंगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ ।












