अमरगढीले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

Image

डडेल्धुरा । जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अमरगढी नगरपालिकाले जितेको छ। अमरगढी नगरपालिका–४ टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १२ कास्यसहित अमरगढीले शिल्ड जितेको हो ।

प्रतियोगितामा परशुराम नगरपालिका द्वितीय भएको छ । परशुरामले १९ स्वर्ण, ९ रजत र १० कास्य प्राप्त गर्‍यो । स्वर्ण संख्या बराबर भएपनि रजत बढी प्राप्त गर्दै अमरगढीले शिल्ड हात पारेको हो ।

छात्र भलिबलको फाइनलमा पुगेको परशुरामको टिम डिस्क्वालिफाइ भएको थियो । फर्जी खेलाडी खेलाइएको पाइएपछि आयोजक जिल्ला खेलकुद समितिले परशुरामको छात्र भलिबल टिमलाई डिस्क्वालिफाइ गर्ने निर्णय गरेको थियो ।

त्यसपछि छात्र भलिबलको फाइनलमा अरमगढी र गन्यापधुरा गाउँपालिका शनिबार भिडेका थिए । जसमा अरमगढीलाई २–१ को सेटमा हराउँदै गन्यापधुराले स्वर्ण जित्यो ।

प्रतियोगितामा आलिताल गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ । आलितालले ८ स्वर्ण, ९ रजत र १० कास्य जितेको आयोजक जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार अजयमेरु गाउँपालिकाले ५ स्वर्ण, १४ रजत र १२ कास्य जितेको छ ।

यस्तै, गन्यापधुरा गाउँपालिकाले २ स्वर्ण, २ रजत र ७ कास्य, नवदुर्गा गाउँपालिकाले १ स्वर्ण, १ रजत र ७ कास्य हात पारेको छ । प्रतियोगितामा भागेश्वर गाउँपालिकाले भने एउटा पनि स्वर्ण पदक जित्न सकेन । उसले १ रजत र ३ कास्यमा चित्त बुझाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेल खेलाइएको थियो । प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहको सहभागिता रहेको थियो ।

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए ।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ । जिल्ला खेलकुद समितिको आयोजना र अमरगढी नगरपालिकाको आतिथ्यतामा जेठ ६ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सकिएको हो । छात्र भलिबल फाइनलमा विवाद भएपछि प्रतियोगिता लम्बिएको थियो ।