औद्योगिक ग्राम निर्माणको काम अलपत्र

Image

बैतडी । बजेट हुँदाहुँदै औद्योगिक ग्राम निर्माणका लागि जग्गाको टुङ्गो भई विस्तृत अध्ययन प्रतिवेदन बनिसक्दा पनि काम अघि बढ्न सकेको छैन । मेलौली नगरपालिकाको कफलानीमा औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले ९२ लाख रुपियाँ पठाए पनि वातावरणीय अध्ययन प्रतिवेदन तयार हुन नसक्दा चार वर्षसम्म काम अघि बढ्न नसकेको हो ।

बजेट हुँदाहुँदै औद्योगिक ग्राम निर्माणको काम चार वर्षसम्म रोकिएपछि महालेखा परीक्षकको कार्यालयले काम अघि बढाउनु पर्छ, अन्यथा नेपाल सरकारबाट प्राप्त बजेट सङ्घीय सञ्चित कोषमा फिर्ता दाखिला हुनुपर्ने टिप्पणी गरेको छ । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणका क्रममा औद्योगिक ग्रामका लागि आव २०७७/७८ मा ९२ लाख रुपियाँ बजेट प्राप्त भए पनि काम अघि नबढ्दा बजेट फिर्ता गर्न सुझाव दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “पालिकालाई उद्योग मन्त्रालयमार्फत आव २०७७र७८ मा औद्योगिक ग्राम स्थापना तथा निर्माणका लागि ९२ लाख रुपियाँ उपलब्ध गराएकोमा वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म बनाउन नसकी औद्योगिक ग्राम निर्माण सुरु हुन सकेको छैन । मन्त्रालयले उपलब्ध गराएको रकम स्थानीय सञ्चित कोषमा मौज्दात छ ।

बर्सेनि हुने मूल्यवृद्धिलगायतका कारण आयोजनाको लागत बढ्दै जाने र नेपाल सरकारले उपलब्ध गराउने रकम निश्चित हुने भएकाले योजना निर्माणमा हुने विलम्बले लागत बढाउँदै गएको देखियो । तसर्थ सम्बन्धित निकायसँग समन्वय गरी योजनाको काम अघि बढाउनु पर्छ अन्यथा नेपाल सरकारबाट प्राप्त रकम सङ्घीय सञ्चित कोषमा फिर्ता दाखिला हुनु पर्छ ।”

मेलौली नगरपालिका–१, ३, ५ र ६ नम्बर वडा जोड्ने गरी कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि थान छनोट गरेर सङ्घीय सरकारले नगरपालिकाको खातामा रकम पठाएको थियो । चुनावका बेला मात्रै औद्योगिक ग्रामको मुद्दा उठ्ने तर बजेट हुँदाहुँदै औद्योगिक ग्रामको काम रोकिएको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले गुनासो गरे । चुनाव जितेपछि नेताले चुनावी वाचा बिर्सने गरेको उनको गुनासो छ ।

मेलौलीको कफलानी क्षेत्रमा फलाम, नेपाली कागज बनाउने लोक्ता, बाँस–निगालो, केतकी, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिट्ठा, अमलालगायतको बहुमूल्य खानी रहेको छ । औद्योगिक ग्राम स्थापनाका लागि छनोट भएको मेलौली नगरपालिका–५ को खलिगाडमा फलाम खानी र चुनढुङ्गा खानी रहेको छ ।

धार्मिक र पर्यटकीय हिसाबले बैतडी जिल्लाकै प्रसिद्ध ठाउँ मानिएको मेलौलीमा औद्योगिक ग्राम स्थापना हुनसके युवाले स्वदेशमै रोजगारी पाउने अपेक्षा गरिएको छ । औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेकाले यस वर्ष वातावरणीय अध्ययन प्रतिवेदन तयार हुने मेलौली नगरपालिकामा नगरप्रमुख भीमबहादुर चन्दले बताए ।