काठमाडौं । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ ।
ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन् । दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन् ।
पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिइन् । पूर्वजन्ममा हिमालय पर्वतकी पुत्री शैलपुत्रीका रूपमा प्रकट भएकी पार्वतीले देवर्षि नारदको उपदेशअनुसार महादेवलाई पति पाउन कठिन तपस्या गरिन् ।
उनले एक हजार वर्ष फलफूल मात्र खाएर, सयौँ वर्ष साग मात्र खाएर, र हजारौँ वर्ष बेलपत्र खाएर तपस्या गरिन् । अन्ततः बेलपत्र समेत त्यागेर खुला आकाश मुनि निराहार कठोर तपस्या गरिरहेकी थिइन् । यसरी कयौँ हजार वर्षको तपस्याका कारण उनको शरीर कमजोर भए तापनि धैर्य र आत्मबलले तपस्या निरन्तर जारी राखिन् ।
ब्रह्मचारिणीको कठोर तपस्या देखेर माता मेनका चिन्तित भइन् र छोरीलाई रोकिन आग्रह गरिन् तर उनले अडिग रहिन् । यस तपस्याले तीनै लोकमा हाहाकार मच्चियो र देवता, ऋषि, मुनीहरू सबैले उनको प्रशंसा गरे । अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भने, हे देवी, आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन् । तिम्रो मनोकामना पूरा हुनेछ र चाँडै नै भगवान महादेव पति स्वरूप तिमीलाई प्राप्त हुनेछौ, भनी आशीर्वाद दिए ।
ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गरिन्छ । विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ । भक्तजनहरूले उनको आराधना गरेमा आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास छ । श्रद्धा भक्तिले अर्पण गरिएका फलफूल, पकवान र पुष्प ब्रह्मचारिणीलाई प्रिय छन् ।
शास्त्रीय मान्यता अनुसार कुनै पनि प्रकारको बन्धन वा अनिष्ट नाशका लागि आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणी माताको पूजा गरी सख्खर चढाउनुपर्छ । यस दिन गरिएको दानपुण्यले शुभफल प्राप्त हुन्छ । ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार छस् देवीलाई फूल, अक्षत, रोली र चन्दन अर्पण गर्नुपर्छ ।
दूध, दही, सख्खर, घृत वा मधुले स्नान गराई प्रसाद चढाउनुपर्छ । प्रसादपछि आचमन, पान र सुपारी अर्पण गरी देवीलाई प्रदक्षिणा गर्नुपर्छ । कलश देवता, नवग्रह, दशदिक्पाल, नगरदेवता र ग्रामदेवतासहित पूजा गरी अन्त्यमा हातमा फूल लिएर प्राथना गर्नुपर्छ । भक्तिपूर्वक गरिएको ब्रह्मचारिणीको आराधनाले अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास छ ।












