खर्च कटौतीले दुई अर्ब बचत

Image

धनगढी । खर्च कटौतीको निर्णयले सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब रुपियाँ बचत भएको छ । जेनजी आन्दोलनको क्रममा प्रदेश संरचनाका विभिन्न कार्यालय र मन्त्रालयमा क्षति भएपछि सरकारले खर्च कटौती गर्ने निर्णय गरेको थियो ।

प्राथमिकताबिहीन खर्च कटौती गर्ने निर्णयले दुई अर्ब रुपियाँ बचत भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

बचत रकमले क्षति भएका मन्त्रालय र कार्यालयका पुननिर्माणमा सहयोग पुग्ने जनाइएको छ । भदौ २४ गते प्रदर्शनकारीले प्रदेश सभा, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला मन्त्रालय लगायतका सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेर क्षति पु¥याएका थिए ।

खर्च कटौतीका लागि प्रदेश सरकारले मातहतका निकायबाट उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजना पनि कार्यान्वयन नगर्ने नीति लिएको छ । यसैगरी, छपाइ तथा प्रकाशनतर्फ ७० र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन, तालिम, गोष्ठी, सेमिनार लगायतमा ५० प्रतिशत कटौती गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

अनुभव आदान–प्रदान, अन्तरप्रदेश भ्रमण, दिवस तथा उत्सव मनाउने जस्ता कार्यक्रम पनि नगर्ने सरकारले निर्णय गरेको छ । यी विभिन्न निर्णयले धेरै रकम बचतमा सहयोग पुगेको बमले उल्लेख गरे ।