सन्दीपको उत्कृष्ट बलिङमा नेपालले कतारलाई हरायो

Image

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले हराएको छ । नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट पाँच विकेट लिँदै नेपाललाई जित दिलाएका हुन् ।

ओमनको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो ।

नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा १४२ रनमा अलआउट भएको हो ।

कतारले पहिलो विकेटका लागि ७९ रनको उत्कृष्ट साझेदारी गरेको थियो । कतारका लागि ओपनर इमाल लियाङ्गीले सर्वाधिक ५६ रन बनाए । उनले ३५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि अर्का ओपनर जुबेर अलिसँग ७९ रनको साझेदारी गरेका थिए । नेपालका लागि पहिलो विकेट सन्दीप लामिछानेले लिए। नेपालले खेल गुमाइसकेको अवस्थामा सन्दीपले उत्कृष्ट विकेट लिए ।

१२.२ ओभरमा कतारले १०० रन पूरा गर्‍यो । नेपालले १३.१ र १३.२ ओभरमा लगातार २ वटा रन आउटले खेलमा फर्कने मौका पाएको थियो । नन्दन यादवको बलिङमा १३.१ ओभरमा कप्तान मिर्जालाई दीपेन्द्र सिंह ऐरीको डाइरेक्ट हिटले पेभेलियन फर्कायो । उनको प्रतिस्थापनमा आएका मोहम्मद तान्भिरलाई आदिल आलमले डाइरेक्ट हिटकै मार्फत पेभेलियनको बाटो देखाएका थिए ।

१५.६ ओभरमा सन्दीप लामिछानेले नेपालको लागि पाँचौँ र व्यक्तिगत तेस्रो विकेट लिए। उनले साहजैब जमिल अहमिदलाई बोल्ड आउट बनाएका हुन् ।

१६.२ ओभरमा कतारले छैटौँ विकेट गुमायो । कतारको मिडल अर्डर केल्याप्स हुँदा ओपनर ब्याटर जुबेर अलिले सम्हालिएको पारी खेले । उनी ५२ रन बनाउँदै १८.१ ओभरमा नन्दन यादवको बलमा गुल्सन झाको हातमा क्याच भए ।

अन्तिम ओभरमा ९ रन जोगाउने जिम्मेवारी पाएका सन्दीपले अन्तिम ओभरमा २ विकेट लिँदै नेपाललाई जित दिलाए ।

नेपालको लागि बलिङ तर्फ सन्दीप लामिछानेले ३.५ ओभरमा सन्दीपले १८ रन खर्चिर्दै ५ विकेट लिए । नन्दन यादवले २ र दीपेन्द्र सिंह ऐरीले १विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमायो । २.४ ओभरमा कुशलले ८ बलमा १ चौकासहित ६ रनमा मिर्जा मोहम्मद बैगको बलमा विकेटकिपरको हातमा क्याच भए ।

अर्का ओपनर आसिफ शेख १२ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए । दुवै ओपनरको विकेट मिर्जाकै नाममा रह्यो । पावरप्लेमा नेपालले दुवै ओपनरको विकेट गुमाउँदै ३३ रन जोडेको थियो ।

६.५ ओभरमा २ रनमा क्याच मिस हुँदा जीवनदान पाएका कुशल मल्ल ७.४ ओभरमा ८ रनमा कट एण्ड बोल्ड भए ।

४८ मा ३ विकेट गुमाएको नेपालले चौथो विकेटको दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ६२ रनको साझेदारी गरे। चौथो विकेटको रूपमा १४.६ ओभरमा दीपेन्द्र सिंह ऐरी क्याच आउट भए । उनले २१ बलमा २६ रन बनाए ।

पाँचौँ विकेटको रूपमा आजको खेलमा मौका पाएका आदिल आलम २ रनमा कट एण्ड बोल्ड भए । छैटौँ विकेटको रूपमा कप्तान रोहितको विकेट गयो । १७.१ ओभरमा सन्दीप जोरा १ रनमै बोल्ड भए । गुल्सन झा १८।४ ओभरमा ८ बलमा १६ रन बनाएर बोल्ड भए ।

सोमपाल कामी अन्तिम बलमा १४ रन बनाउँदै रनआउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

कतारका लागि बलिङ तर्फ डेनिअल आर्चर र मिर्जा मोहम्मद बैगले समान ३–३ विकेट लिँदा मोहम्मद असिम अलि र ओइस अहमदले १–१ विकेट लिए । नेपालले सुपर सिक्स अन्तर्गत बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।