काठमाडौँ । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ । ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको हो ।
नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो। नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलको थियो । नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो। अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ ।
नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा छनोट भएको छ। नेपाल र ओमानले दुई खेल अगावै विश्वकपमा स्थान बनाएका हुन्। जितका लागि यूएईले दिएको दुई सय २६ रनको लक्ष्य पछ्याएको सामोआ पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनमा समेटिएको हो। अब युएई र जापानमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ।
सुपर सिक्समा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ भने अन्तिम खेलमा शुक्रबार सामोआसँग प्रतिस्पर्धा गर्नेछ।
सुपर सिक्सको अंक तालिकामा ओमान र नेपाल समान ६–६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन्। यूएईले भने चार अङ्क जोडेको छ। अन्तिम खेलमा यूएईले जापानसँग प्रतिस्पर्धा गर्नेछ।












