महंगो बन्यो हाते ट्याक्टरको जोताई

Image

डडेल्धुरा । पाँच वर्ष अधिसम्म यहाँका किसानले खेतबारी जोत्न एक घरमा एक गोरु अनिवार्य रुपमा पाल्दै आईरहेका थिए । प्रबिधिको विकाससंगै अहिले परम्परागत रुपमा गाईगोरु पाल्ने चलन नै लोप भईसकेको छ । गोरुले जोत्ने खेतबारीमा अहिले पहाडका कुनाकान्थरासम्मै हाते ट्याक्टर पुगाईएका छन ।

कृषि क्षेत्रमा काम गर्ने सरकारी कार्यालयहरुले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बाँड्न थालेपछि डडेल्धुराका अधिकांस किसानका घरमा हाते ट्याक्टर पुगेका छन । गोरु पाल्न खासै मेहनत नगरिने भएपनि गाई पाल्न छोड्ने चलन बढ्दै गएपछि गोरु हराउदै गएका छन ।

व्यवसायीक रुपमा कृषि कर्म गरिरहेका किसानलाई प्रबिधिले सहयोग पुगाएपनि परम्परागत रुपमै खेतीपाती र न्यून आयस्तर भएका स्थानीयहरु भने प्रबिधिको मारमा परेका छन । मध्यपहाडी जिल्लाका अग्ला र भिरालो भू भागमा स साना गह्रा कान्लाको खेती गर्दै आईरहेका किसानलाई प्रबिधिको उपयोग गर्न महंगो मात्रै नभई सास्तिको भोगाई पनि भईरहेको छ ।

बसाईसराईले गाउँका घरहरु रित्ता छन । गाउँमा युवा पाउन निकै मुस्किल छ । खण्डित जमिनले गर्दा एउटा गह्रा पहाडको टुप्पोमा र अर्को गह्रा पहाडको फेदमा छ । अनुदानमा हाते ट्याक्टर प्राप्त गरे पनि खनजोत गर्न ल्याउन लैजान निकै मुस्किल परेको अमरगढी नगरपालिका ७ की किसान टिकेश्वरी भण्डारीले गुनासो गरिन ।

गाउँ नजिकैको पोखरा बजारबाट डिजेल खरिद गर्दा प्रति लिटर १६० रुपियाँ पर्यो । उनले भनिन्, पम्पमा केही सस्तो होला । तर आउन जान त्योभन्दा बढी गाडी भाडा लाग्छ ।

टाढाँ टाढाँका गह्रा जोत्न हाते ट्याक्टर ल्याउन लैजान तीन जनाभन्दा बढी मानिस चाहिने उनले बताईन । उनका अनुसार साघुरो त्यसमा पनि उकालो, ओरालो बाटो र गह्राका कान्लाबाट ओराल्दा, उकाल्दा साह्रै समस्या हुन्छ । ट्याक्टरमा ईञ्जिन र गेयर ओईल पनि लाग्ने भएकाले त्यो पनि खरिद गर्दा पैसा नहुनेहरु लाई वैसाकै खाँचो पर्छ । गरिबलाई झनै गरिन बनाउने प्रबिधि भएको उनले बताईन । ट्याक्टरमा केही खराबी आए एक हजार रुपियाँ भन्दा तल बनाउने मिस्त्रिले हात नै नलगाई दिने उनले सुनाईन ।

किसानले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर पाउन सफल भएपनि कम्तिमा ३० हजार रुपियाँ चाहिन्छ । हाते ट्याक्टरको मूल्य कम्तिमा पनि ६० हजार रुपियाँ छ । तर सात हर्ष पावर भन्दा तलका ट्याक्टर जोत्न उपयुक्त नहुने हुदा यसको मूल्य ८० हजार रुपिया बढी पर्ने स्थानीय केशव भण्डारीले बताए ।

प्रबिधिका नाममा हाते ट्याक्टर महंगो हुनुकासाथै साघुरा गह्रामा जोत्न ज्यान कै बाजी राख्नु पर्ने भएकाले एक साता यता गोरु खोजि रहेको उनले बताए । तर गोरु पाउनै नसकेको उनले सुनाए ।

अनुदानमा हाते ट्याक्टर किसानले पाए पनि मर्मतमा बढी रकम खर्च हुने भएकाले गोरु खोज्न हिडेको हु । उनले भने, अजयमेरु गाउँपालिका १ को मुद्राड गाउँसम्म पुग्दा पनि गोरु पाएन । गाईलाई व्याउने बनाउन वर (सांढे) पनि पाउन सकिएको छैन । हिजो मात्रै दुई घण्टा पैदल हिडेर अमरगढी नगरपालिका ९ को ढांट गाउँबाट साढे ल्याएर गाई व्याउने बनाउदा एक हजार ५०० रुपियाँ तिरे ।

गाईवस्तु छाडा छोड्दै जाने चलनले गोरु, सौढे नपाउने समस्यासंगै खेतबारी खनजोत, रोपाई गर्न प्रबिधि मगंहगो भएको किसानको गुनासो छ ।