डडेल्धुरा । यहाँ उत्पादन भएका सयपत्री फूल सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी निर्यात हुदै छन । झिलिमी एवं फूलको चाँड भनेरसमेत चिनिने तिहारको यो समयमा यहाँ उत्पादन गरिएका सयपत्री फूल कैलाली निर्यात गरिन लागेका हुन । डडेल्धुरामा खपत नहुने हुदा धनगढी पठाउनु पर्ने बाध्यता रहेको अजयमेरु गाउँपालिका ५ का पुष्प व्यवसायी किसान टेकराज पाठकले बताए ।
बाह्रै महिना पुष्प खेती गर्दै आएका पाठकको बगैँचा जिल्ला सदरमुकाम बागबजारभन्दा करिब २४ किलोमिटरको दुरीमा छ । आधा सडकबाटो कच्चि भएकाले पानी पर्दा अवरुद्ध हुने समस्या छ । तर पनि चार वर्ष यता पुष्प खेती गर्दै आईरहेको उनले बताए । पहिले स्थानीय जातको सयपत्री लगाउने गरेको भएपनि गत वर्ष यता टेलीस्मल नामक उन्नत जातको सयपत्री लगाउने गरेको उहाँले जानकारी दिनुभयो । फूलको बिउ भने प्रतिकेजी दुई लाखसम्म पर्ने उनले बताए ।
अहिले करिब एक हजार देखी १२ सयसम्म सयपत्री फूलका बोट आफ्नो बारीमा फूलेको उनको भनाई छ । तराईका जिल्लामा यस वर्ष अहिलेसम्म फूल नफुलेका कारण यहाँका सयपत्रीले बजार पाएको उनले सुनाए । प्रतिकेजी ५०० रुपियाँका दरले बिक्रि गर्ने गरेको उनले बताए । गत वर्ष कृषि ज्ञान केन्द्र डडेल्धुराले बेमौसी पुष्प खेती गर्न प्लाष्टिक टर्नेल बनाउन ९० हजार रुपियाँ अनुदानमा सहयोग गरेको उनले बताए
जिल्ला सदरमुकामको अमरगढी नरपालिका–१ डोला गाउँका स्थानीय सुरत ऐर निरन्त पुष्प खेतीमा होमिएका छन । उनको बारीमा अहिले आठ सय सयपत्री फूलका विरुवा ढकमक्क फुलेका छन । बाह्रैमास फूल फूलाउन अहिले पनि बिउ राखेको उनले बताए । साउन, मंसिर र फागुन महिनामा फूलको बिउ राखेर प्रत्येक तीन÷तीन महिनामा उत्पादन गर्दै आईरहेको उनको भनाई छ ।
जिल्लाको भित्रिमधेश क्षेत्र जोगबुडामा स्थानीय चक्र मालले पनि केही वर्ष यता व्यवसायीक रुपमा पुष्प खेती गर्दै आईरहेका छन । जिल्लाको करिब आधा जनसंख्या भित्रिमधेश क्षेत्रमा भएपनि फूलको बजार नभएको गुनासो उनको छ । महाकाली नदी पारी भारतिय बजार भएकाले प्लाष्टिकका माला जोगबुडा भित्रिदा फूलले बजार पाउन नसकेको उनले बताए ।
मालले परशुराम नगरपालिका ४ कटाल गाउँको करिब तीन रोपनी जमिनमा तीन हजार विरुवा कर्मा ५५५ जातको सयपत्रि फूल उत्पादन गरेका छन । धनगढीबाट पाँच कुन्टल फूलको माग आएकोले पठाउने तयारी भईरहेको उनले बताए ।
परशुराम नगरपालिकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरिए पनि प्लाष्टिकका माला प्रतिबन्ध नगरिदा दुःख लागेको उनले सुनाए । नेपाल सरकार गृह मन्त्रालयले नै प्लाष्टिक जन्य मालामा प्रतिबन्ध लगाएपनि परशुराम नगरपालिकाको मुकाम लालढुंगालगायतका बजारमा खुलेआम रुपमा प्लाष्टिकका माला बिक्रि वितरण भईरहेको उनको गुनासो छ । जिल्ला प्रशासनलगायतका कार्यालयको सयुक्त अनुगमनले पनि प्लाष्टिकका माला बेचबिखनमा कुनै रोक नगरेको आरोप उहाँको छ । यसले पुष्प व्यवसायी धरापमा परेको उनले बताए ।














