थपिदै जेनजी मतदाता

Image

डडेल्धुरा । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा मतदान गर्न जेनजी मतदाता थपिदै गएका छन । निर्वाचन कार्यालयले गरिरहेको मतदाता नामाबली संकलनमा जेनीजी पुस्ताका युवाहरु बढी रहेको पाईएको छ ।

२०७९ को निर्वाचनमा डडेल्धुरा जिल्लामा ९४ हजार तीन सय १४ मतदाता संख्या रहेको थियो । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख करुणाकर अवस्थीका अनुसार हाल संकलन भईरहेको मतदाता नामाबली संकलनमा दैनिक एक दर्जन बढी मतदाता नाम दर्ताका लागि जिल्ला सदरमुकाम स्थित तुफानडाडामा रहेको कार्यालयमा पुग्ने गरेका छन ।

उनका अनुसार शुक्रबार कार्यालय समय भित्र १२९ जना नयाँ मतदाताहरुले नाम दर्ता गरेका छन । यो संख्या मध्ये जेनजी पुस्ताको संख्या करिब ९० प्रतिशत भएको उनले बताए । नयाँ नागरिकता बनाउनेको संख्या धेरै र केही छुटेका मतदाताहरु नाम दर्ताको लागि कार्यालय पुग्ने गरेको उनको भनाई छ ।

हालसम्म नाम दर्ता भएका १२९ मध्ये मतदाताहरु मध्ये पुरुष ८६ र महिला ४३ छन । अरु जिल्लाभन्दा कम जनसंख्या हुनु र अधिकांस युवाहरु विदेश तिर रहेकाले मतदाता नामाबली संकलनमा चाप कम देखिएको उनले बताए ।

२०७४ सालको निर्वाचनमा डडेल्धुराको मतदाता संख्या ८८ हजार ४५ जना रहेको थियो । कार्यालयका कम्प्युट अपरेटर भवानीदत्त भट्टका अनुसार २०७८ सम्म ६ हजार दुई सय ६९ मतदाता थप भई यस जिल्लाको कुल मतदाता संख्या ९४ हजार तीन सय १४ पुगेको थियो । यस वर्षको चुनावमा उथल पुथल नै हुने गरि मतदाता नथपिने अनुमान गर्न सकिने उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयको २०७८ सम्मको तथ्यांक अनुसार सात वटा स्थानिय तह रहेको डडेल्धुरामा अमरगढी नगरपालिकामा मतदाता संख्या १४ हजार ८०२, जिल्लाको अर्काे नगरपालिका परशुराममा सबै भन्दा बढी २२ हजार ३२७ जना मतदाता रहेका छन ।

यसैगरी अजयमेरू गाउँपालिकामा १२ हजार २६३, आलिताल गाउँपालिकामा ११ हजार २७६, गन्यापधुरा गाउँपालिकामा १० हजार ९५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६८० र भागेश्वर गाउँपालिकामा ९ हजार आठ जना मतदाता संख्या रहेको छ ।

प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फ भने दुई वटा निर्वाचन क्षेत्र रहेका छन । राष्ट्रिय जनगणना २०७८ अनुसार डडेल्धुराको कुल जनसंख्या एक लाख ३९ हजार ४२० रहेको छ ।