दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तार

Image

काठमाडौँ । पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा पहिलो पटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठुलो राहत मिलेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चासो र सक्रियतापछि तिलिचोआसपासमा भ्वाइस र डाटाको सेवा पुगेको हो ।

तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पुर्‍याउने अभियान अन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताए ।

उनले भने, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पुयाउने लक्ष्य लिएको छ, सोही अनुसार तिलिचोआसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठुलो राहत भएको छ । अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो ।”

तिलिचोमा मात्रै होइन मन्त्री खरेलको सक्रियतामा गत असोज ३० गतेदेखि सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङको तलकोटमा पनि पहिलो पटक फोरजी सेवा विस्तार भएको छ ।

तलकोट गाउँपालिका–४, बुङ्गाडाँडामा बिटिएस टावर जडान गरेर पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिए । उनका अनुसार तलकोट–१ र ४ मा सेवा सुरु भइसकेको छ भने जयपृथ्वी नगरपालिका–१ र ५ मा पनि चाँडै फोरजी सेवा सञ्चालन गरिने छ ।

तलकोट–४ का अध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपत्कालीन सम्पर्क, दैनिक कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा सहज भएको बताए ।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका–५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी सेवा सञ्चालमा ल्याइएको छ ।

त्यसै गरी डोटीको दिपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ ।

बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए । उक्त विषयमा मन्त्रालयमा प्राप्त गुनासोपछि मन्त्री खरेलले तत्कालै समन्वय र ताकेता गरेर अवरुद्ध सेवा सञ्चालनका लागि पहलकदमी लिउक्ँ छन् ।

टेलिकमको प्राविधिक टोलीले अवरुद्ध सेवा मर्मत गरेर सेवा सञ्चालन भएको हो । स्थानीय प्रकाशमान सिंहले अवरुद्ध टेलिकमको सेवा सञ्चालन भएसँगै स्थानीयलाई ठुलो राहत मिलेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन। उनले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इन्जिनियरलगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहेका छन ।

मन्त्री खरेलले जनतालाई आधारभूत सञ्चार सेवालगायतको प्रत्याभूत गराउन सरकारले सबैखाले पहल गर्ने विश्वास व्यक्त गरे । उनले भने, “सरकारले दुर्गम क्षेत्रमा भ्वाइस र डाटा पु¥याउने लक्ष्य लिएको छ, सोहीअनुरूप पछिल्लो समय दार्चुला, बझाङ, जाजरकोट, मनाङको तिलिचोलगायत क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । यो सेवाले स्थानीय र पर्यटकलाई सहयोग पुग्ने छ । टेलिफोन र इन्टरनेट नपुगेका देशका दुर्गम क्षेत्रमा सेवा विस्तारका लागि लागिपरेका छौँ ।”

खरेल सञ्चारमन्त्रीमा नियुक्त भएपछि मन्त्रालयले सुशासन, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र, नवीनतम प्रविधि प्रवर्धन र युवाको संलग्नताका सम्बन्धमा जेनजी युवाका प्राविधिक क्षेत्रका जानकारसँग सुझाव लिएको थियो ।