सात भाई देउता मध्येका एक कैलापालको जाँत सम्पन्न

Image

डडेल्धुरा । देउताका सात जना भाईहरु मध्ये एक कैलापाल देउताको पूजाआजासंगै भव्य मेला सम्पन्न भएको छ । पश्या गर्खाको सुप्रशिद्ध जैसेराको कैलपाल देउताको जाँत मंगलबार सम्पन्न भएको हो । प्रत्येक वर्ष कात्तिक षष्ठि तीथीमा कैलापाल देउताको वार्षिक पूजाआजासंगै भव्य जाँत (मेला) हुने गर्दछ ।

गन्यापधुरा गाउँपालिका वडा नं. ४ मा अवस्थित कैलापाल मन्दिरमा देउताको बिधि पूर्वक पूजाआजासंगै दाईन दमाह भोकरलगायतका बाजागाँजाको तालमा नांगो तरबारको चौलो र थरिथरि रंगका कपडासहित आभुषणले सजिएको गाँज नचाउने गरिन्छ ।

परापुर्व कालमा पनेरु थरी भारतको कुमाउबाट बसाइँ सरी आउने क्रममा कैलपाल देवताकी घाँट र देउरो पने सँगै आएको मान्यता छ । तीनै जयदाश पनेरुको नाउँबाट यस ठाउँको नाम जैसेरा रहन गएको यहाँका अग्रजहरुबाट सुन्नमा आउछ ।

कैलपाल देवताका सात वटा भाइहरु रहेको किम्वदन्ति छ । सात जना भाईहरु मध्ये कैलपाल, देउपाल, सौपाल, नीरपाल, ,बाँठपाल र उपरपालको नाम खुलेको र एक जना भाइको अहिलेसम्म पनि नाम र स्थान खुल्न नसकेको कैलापालका पुजारी मध्येका एक एवं वडा अध्यक्ष नरेश कुमार भट्टले बताए । कैलापाल देउताका मुख्य पुजारी रुमायल गाउँका भट्ट रहेका छन ।

कैलपाल देवताको मेड्डि, चौतमला र डाङा गाउँ गरि तीन वटा गाउँमा भ्राण घर (देवघर) रहेका छन । हरेक वर्ष सबै गाउँमा पालैपालो गरि देउरो राखीन्छ । राती र दिउँसो गरि दुई दिन मेला लाग्ने गरेको उहाँले बताउनुभयो । षष्टि तिथिको मध्यरात १२ः०० बजे चौलो निकालिन्छ ।

कैलपाल मन्दिरबाट निकालिएको चौलो र भुमीदेउलीका खलाबाट आएको दुई वटा चौलोको भेट मन्दिर परिसरमा हुने गरेको छ । रातीको जस्तै गरि दिउसोसमेत सोही प्रक्रिया अनुसार चौलो निकालिन्छ ।

रित अनुसार पहिलो देउरो कैलपालको आउनु पर्छ, उक्त देउरो आलोपालो जैसेरा वा मेड्डीमा रहन्छ । मेडडीवाट देउपालको देउरो,कापडी गाउँवाट दुर्गाको देउरो, उकलीबाटा न्वाधर मुन्टाको देउरो र भूमी देउलीको देउरो आईपुग्छन । कोही कपड देउमा त कोही सोझै देउथलामा पुग्ने गर्छन । डोटीको थप्साबाट पनि कैलपालमा देउरो आउने गर्छ ।

धार्मिक सांस्कृतिक परम्परा अनुसार कैलपाल मन्दिरमा विभिन्न गाँउहरु बाट देउरो पुर्‍याई धुप, पोखलले होम गर्दै पुजा आजा सम्पन्न भए पछि दोस्रो दिन मेला भर्नेको घुईचो हुने गर्छ । मेलामा शक्तिको प्रतिकका रुपमा यस क्षेत्रको चर्चित चौलो नाच प्रदर्शन गरिन्छ । हातमा नाङ्गो तरबार खेलाउदै दाईन दमाह बाजाको तालमा नाच प्रस्तुत गरिने देवि देवताको पुजाआजा गर्दा मनोकामना पुरा हुने धार्मिक आस्था संगै शक्तिका रुपमा चौलो नाच प्रस्तुत गर्ने पुरानो परम्परा अहिले पनि छ ।

लाटागन्यापकै दोस्रो देवालयका रुपमा कैलपाल देवालय लाई मानिन्छ । परापुर्वकालमा पस्या भनेर चिनिने गन्यापधुरा गर्खा तथा डोटीको बान्डुंग्रीशैन, थप्सा लगायत क्षेत्रमा बसोवास गर्ने अधिकांस स्थानिय पुजाआजाका समय घर फर्कने गरेका छन । यँहाबाट बसाई सरी अन्यत्र गएकाहरु पनि कैलपाल देवताले नै दिएको एवं हालको अवस्था पनि देवताकै कारणले बनेको वा दिएको भन्ने विश्वासले जाँत मेला पुजाआजाको समय यँहा पुग्ने गरेका छन ।

कैलपालसंगै विभिन्न देउताका धामीहरु मन्दिर प्रांगण (खला)मा बाजागाँजाका धुन तालमा नाच देखाउने गर्दछन ।