डडेल्धुरा । डकले बसपार्क निर्माण कार्यको गत असार पहिलो साता शिलान्यास गरिए पनि गति लिन सकेको छैन । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ८ डकलेमा बन्ने बसपार्क क्षेत्रबाट बिद्युत लाईन गएको हुदा निर्माण कार्यले गति लिन नसकेको हो ।
संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीको भ्याट बाहेक १० करोड ३० लाख १६ हजार रुपैयाँ लागतयमा व्यवस्थित बसपार्क निर्माणका लागि ठेक्का सदर भएको थियो । यस कार्यालयका साईड ईञ्चार्ज दिपक ओझाका अनुसार मालिका–कालिका–युपि जेभीले निर्माणको जिम्मा पाएको थियो ।
गत असार महिना देखी निर्माणको काम थालिएपनि बझांग जिल्लासंग जोडिएको बिद्युतको ३३ केभी र स्थानीयसंगै बैतडी, दार्चुलासम्म जोडिएको ११ केभी लाईनका कारण काममा ढिलाई भईरहेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीका अनुसार उक्त स्थानबाट बिद्युत लाईन सार्न ठेक्का सदर गरेको कार्यालयले प्रतिबद्धता जनाउनु पर्ने हुन्छ ।
उक्त क्षेत्रबाट लाईन सार्न करिब २० लाख रकम बराबर खर्च हुने लागत अनुमान गरि ठेक्का सदर गर्ने कार्यालय संघिय शहरी विकास तथा भवन निर्माण विभागलाई बुझाई सकेको उनले बताए । उक्त कार्यालयले प्रतिबद्धता पत्र उपलब्ध गराए नेपाल बिद्युत प्राधिकरण संचालक समितिबाट सदर गरि काम शुरु हुने उनको भनाई छ ।
संघिय शहरी विकास तथा भवन निर्माण कार्यालयका साईड ईञ्चार्ज ओझाका अनुसार बसापर्क निर्माणका लागि उक्त निर्माण कम्पनीसंग २०८१ जेठ ३२ मा नै ठेक्का सम्झौता भएको थियो । १८ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरि ठेक्का सम्झौता भए पनि त्यो बेला वन कार्यालय र अहिले बिद्युत लाईनका कारण काममा ढिलाई भईरहेको छ । यस अघि २०६७ सालमै बसपार्क निर्माणको थालनी गरिएको थियो । तर काम अघि बढ्न सकेको थिएन ।
बसपार्क निर्माण गरिने डकलेको सराउलीका घाणा सामुदायिक वनको वातावरणीय प्रभाव मूल्यांकन नगरेरै टेण्डर आह्वान गरिए पछि निर्माण कम्पनीसंग ठेक्का सम्झौता हुन सकेको थिएन । यस कारण ठेक्का आह्वान भएपनि बसपार्क निर्माणको कामले गति लिन सकेको थिएन ।
अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशीका अनुसार २०८१ चैत महिनाको दोस्रो साता बसपार्क निर्माण क्षेत्रमा पर्ने रुख कटानी वाफत क्षतीपूर्तीको झण्डै एक करोड ११ लाख रकम नेपाल सरकारको वन विकास कोषमा जमा गरेपछि रुख कटान गरिएका थिए । रुख कटानको काम सकिएपछि निर्माण कम्पनीले बसपार्क निर्माणको काम असार पहिलो सातादेखी सुरु गरेको थियो ।
डकलेमा बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले २०७९ साल जेठ महिनामा १६ करोड ५० लाखको लागत इस्टिमेट तयार पार्दै ठेक्का आह्वान गरेको थियो । ठेक्का आह्वानपछि घटाघटमा भ्याटसहित साढे १३ करोडमा ठेक्का स्विकृत भएको थियो ।
बसपार्क निर्माणका लागि सामुदायिक वनले २०७३ सालमै सहमति दिएको थियो । ४० रोपनी जग्गामा बसपार्कसंगै सपिङ्ग कम्पलेक्स, टर्मिनल भवन, पार्किङ्ग, टिकट काउन्टर, शौचालय लगायतका संरचना निर्माणको योजना रहेको छ । बसपार्क निर्माणका लागी तत्कालिन अवस्थामा डोटीमा रहेको कार्यालयले कन्सल्टेन्ट मार्फत डिजाईन इष्टिमेट तयार पारेको थियो । महाकाली राजमार्गको क्षेत्राधिकार भित्रै इष्टिमेट तयार पारिएकाले हाल क्षेत्राधिकार छोड्नु परेको उनले जानकारी दिए ।
सडकको क्षेत्राधिकार छोडेर बसपार्क निर्माण गर्दा हाल पर्खालको लम्बारई, चौडाई बढेको उनको भनाई छ । यसले गर्दा इष्टिमेट फरक हुनुकासाथै लागत अनुमान पनि बढेको छ । यसमा भियो गरि व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । यस कारण पनि निर्माणको काममा ढिलाई भईरहेको निर्माण कम्पनीको भनाई छ ।
डकले बसपार्क निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ मा शहरी विकास तथा भवन डिभिजन कार्यालय राजपुर डोटीको ६० लाख रुपैयाँ खर्च गरिएको थियो । डडेल्धुरा-बैतडी जोड्ने महाकाली राजमार्ग छेउ बसपार्क निर्माणका लागी तत्कालिन अवस्थामा पर्खालहरु निर्माण गरिएका थिए । त्यस यताका केही वर्षहरुमा बजेट उपलब्ध नहुदा बसपार्क निर्माणको काम अलपत्र परेको थियो ।












