कलैया । बाराको सिमरा क्षेत्रमा सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि आज बिहीबार पनि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ । कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार बुधबार सिमरा चोकमा जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही घटनालाई लिएर थप अशान्ति फैलिन नदिने उद्देश्यले आज पनि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले स्पष्ट पारेको उनले बताए ।
झडपका क्रममा सामान्य हाताहात र ढुङ्गामुढा चलेको छ । घटनाबारे अनुसन्धान अगाडि बढाउँदै जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले थप संलग्नताका आधारमा अन्य व्यक्तिहरूलाई पनि खोजी भइरहेको जानकारी दिएको छ।
सुरक्षा निकायले घटनास्थल आसपासमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । स्थानीयवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबैलाई संयमित रहन र सहयोग पुर्याउन आग्रह गरेको छ ।
यसैगरी हिजो भएको घटनामा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र सोही ठाँउ वडा ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा दर्ता भएको किटानी जाहेरीका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।
उनले भने, ूकिटानी जाहेरी दर्ता गराउने सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको दाबी गरेका छन् । जाहेरी दर्ता भएपछि प्रहरीले प्रारम्भिक बयान लगायत आवश्यक प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ ।












