डडेल्धुरा । ठेक्का सम्झौता अनुसार त परै जाओस दुई पटक म्याद थप गर्दासमेत काम सम्पन्न नभएको भातकाँडा–बडाल–रेल सडक निर्माणमा बालुवाको सट्ट माटोको प्रयोग गरिएको भेटिएको छ । पूर्व प्रधानमन्त्री एवं नेपाल काँग्रेसका सभापती शेरबहादुर देउवाको गाउँ गन्यापधुरा गाउँपालिका १ रुवाखोला भएर डोटीको शिखर नगरपालिका जोड्ने महाभारत पर्वत क्षेत्रमो मुख्य सडकका रुपमा लिईएको उक्त भातकाँडा–बडाल–रेल सडक समयमै निर्माण हुन नसक्दा बारम्बार प्रश्न उठ्ने गरेको छ ।
यही सडक खण्डको कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण व्यवसायीले बालुको सट्टा माटो र गिट्टी पनि कमसल प्रयोग गरेको भेटिए पछि डडेल्धुरामा अहिले यो प्रश्न झनै उठेको छ । सरोकारवाल पक्षसंग औला ठडिएका छन ।
भातकाँडा–बडाल–रेल सडकको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न आर्थिक वर्ष २०७८/२०७९ मै ठेक्का सम्झौता भए पनि सडक कालोपत्रे हुन सकेको छैन । यस खण्डभन्दा अगाडी यो ठेक्का पछि ठेक्का लागेको खण्ड भने गत वर्ष नै कालोपत्रे भइसकेको छ ।
२०५२ सालमै टर्याक खोलिएको उक्त सडक कालोपत्रे हुन नसकेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । डडेल्धुरा–अत्तरिया जोड्ने महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो ।
तर हाल पर्खाल लगाउने काम गरिरहेको निर्माण कम्पनीले पर्खाल निर्माणका क्रममा बालुको सट्टा त्यही खोदिएको माटो र गिट्टीको सट्टा त्यहीका ढुंगा कुटेर गुणस्तरहिन कमसल काम गरिरहेको भेटिएको हो ।
स्थानीयका अनुसार निर्माणस्थलमा बालुवाका नाममा माटो हालिएको छ भने गिट्टी पनि कमसल गुणस्तरको प्रयोग गरिएको छ । पाँच वर्षसम्म सडक निर्माणको काम अड्किएको र अहिले प्रयोग भइरहेको सामग्रीहरू पनि कमसल रहेको स्थानीय सन्तोष देउवाले बताए ।
‘विगतदेखि कमसल खालको बालुवा र गिट्टी प्रयोग गरिरहेको छ । सडक डिभिजन कुलपातेका कार्यालउ प्रमुखलाई सम्पर्क गर्दा सम्पर्कमै आउनु हुन्न,’ उनले भने, बालुवाको ठाउँमा माटो प्रयोग गरिएको छ । सिमेन्ट पनि मिति नाघेको प्रयोग भएको छ ।’
स्थानीय सुरेन्द्र चन्दका अनुसार सोमबार मात्रै माटो प्रयोग गरेर बनाइएको पर्खाल स्थानीयको विरोधपछि भत्काइएको छ ।
गुनासो बढेपछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालासहितको टोलीले सडक खण्डको अनुगमन गरेको छ । अनुगममा पुगेका प्रमुख जिल्ला अधिकारी कोइरालाले अत्यधिक लो बिडिङ, गुणस्तरहीन सामग्री प्रयोग, समयमै काम नगर्ने र गैरजिम्मेवारीपन देखिएको भन्दै सबै पक्षलाई सचेत गराइने बताए । उनका अनुसार काम समयमै पूरा गराउनेतर्फ प्रशासन सक्रिय रहनेछ ।
यो सडक खण्ड २६ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक डिभिजन कार्यालय डोटीका सवइन्जिनियर विक्रम शर्माका अनुसार निर्माण कम्पनीले काम सुस्त गरिरहेको छ । हालसम्म करिब ४१ प्रतिशत मात्रै भौतिक प्रगती देखिएको उनले जानकारी दिए ।
उनका अनुसार उक्त सडक खण्ड कालोपत्रेका लागि २०७८ माघ महिनामा ठेक्का सम्झौता भएको थियो । २०८० चैत मसान्तमा कालोपत्रेको काम सम्पन्न गर्ने गरी ठेका सम्झौता भए पनि यो समय भित्र काम सुरु नै गरिएको थिएन ।
गत वर्ष मात्रै कटिङ र पर्खाल लगाउने काम ठेकेदारले गरेर म्याद थप गरेको थियो । २०८२ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी म्याद थप भएको भए पछि अहिले फेरी पर्खाल लगाउने काम भईरहेको छ । निर्माण कम्पनी अनक जोशी मालिका महेन्द्रनगरका सञ्चालक रघुवीर साउदले गत वर्ष सडक कटिङ र पर्खाल लगाउने काम गरे पछि म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । म्याद थप गरेपछि भने ठेकेदार बेपत्ता भएका थिए । गएको वैशाख महिनामा म्याद थप गरे पछि ठेकेदार काम ठप्प पारेर बेपत्ता भएको स्थानीयको गुनासो छ ।
उक्त साढे चार किलोमिटर सडक खण्ड भन्दा अगाडी कालोपत्रेका लागि २०७९ असोज महिनामा एस.के.तेडी कालिका जेभीसँग ठेक्का सम्झौता भएको थियो । उक्त सडक खण्ड भने कालोपत्रे भइसकेको छ । साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसारको सडक खण्ड कालोपत्रे भइसकेको उनले बताए ।
यस्तै, उक्त सडक खण्ड भन्दा पनि अगाडी साढे तीन किलोमिटर सडक खण्ड कालोपत्रेका लागि एस.के. भवानी कम्पनीसँग साढे पाँच करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । २०८० असोज महिनामा भएको ठेक्का सम्झौतामा २०८१ असार मसान्त भित्र काम सम्पन्न गर्नुपर्ने थियो । सम्झौता अनुसार कालोपत्रेको काम सम्पन्न भएको उनले जानकारी दिए ।
यस सडक खण्डको करिब नौ किलोमिटर सडक कालोपत्रे भए पनि सुरुको भातकाँडा बजार भन्दा अगाडीको साढे चार किलोमिटर सडक खण्ड कालोपत्रे हुन नसक्दा स्थानीयलाई सास्ती छ ।











