सिताके च्याउको मूल्य केजीको ८०० रुपैयाँ
डडेल्धुरा । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर फर्किएका र युरोप जाने प्रयास गरेका डडेल्धुराका एक किसान अहिले गाउँमै व्यावसायिक च्याउ खेती गरेर आम्दानी गर्न सफल भएका छन ।
गन्यापधुरा गाउँपालिका–१ रुवाखोला (असिग्राम) का सन्तराम जोशीले सिताके र कन्या च्याउको व्यावसायिक खेती गरेर गाउँमै स्वरोजगारको बाटो रोजेका हुन । उनले २०७७ सालदेखि परालमा कन्या च्याउ र त्यसपछि काठका मुडामा सिताके च्याउ उत्पादन गर्दै आएका छन ।
जोशीका अनुसार उनको फार्मबाट सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँमा बिक्री भइरहेको छ । कन्या च्याउको मूल्य भने उत्पादनअनुसार फरक हुने गरेको छ । तराईका जिल्लामा उत्पादन कम हुँदा प्रतिकिलो २०० रुपियाँभन्दा बढी मूल्य पाउने गरेको र उत्पादन बढ्दा १५० रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
घरपरिवारको गुजारा चलाउन २०६९ सालमा मलेसिया गएका जोशीले त्यहाँ तीन वर्ष काम गरे । नेपाल फर्किएपछि थप आम्दानी गर्ने उद्देश्यले युरोप जाने प्रयास गरे । त्यसका लागि काठमाडौँका विभिन्न म्यानपावर कम्पनी धाए । यही क्रममा उनले काठमाडौँका च्याउ फार्ममा काम गर्ने अवसर पाए ।
काठमाडौँका च्याउ फार्ममा काम गर्दा पाँच वर्षसम्म च्याउ खेतीसम्बन्धी सीप सिकेका उनले युरोपको भिसा नलागेपछि सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्ने सोच बनाए । त्यसपछि गाउँ फर्किएर च्याउ खेती सुरु गरे ।
काठमाडौँमा प्रतिकिलो एक हजार ५०० रुपैयाँसम्म पर्ने सिताके च्याउ आफ्नो गाउँमा उत्पादन गर्न सकिन्छ कि सकिँदैन र स्थानीयले यसको स्वाद मन पराउँछन् कि मन पराउँदैनन् भन्ने उनलाई सुरुमा चिन्ता थियो । त्यसैले उनले परीक्षणका रूपमा ५० वटा काठका मुडामा सिताके च्याउको बीउ राखेर खेती सुरु गरे । सँगसँगै कन्या च्याउको उत्पादन पनि थाले ।
करिब नौ महिनापछि मुडामा सिताके च्याउ फल्न थालेपछि उनले डडेल्धुरा बजारमा बिक्री गर्न थाले । स्थानीय बजारमा च्याउको स्वाद र माग बढ्दै गएपछि अर्काे वर्षदेखि करिब ६०० मुडामा सिताके च्याउ खेती विस्तार गरेको उनले बताए ।
अहिले उत्पादन सीमित भए पनि बजारमा सिताके च्याउको माग बढिरहेको उनको अनुभव छ । फार्ममा उत्पादन भएको सिताके च्याउ सातामा आठदेखि १० किलोसम्म डडेल्धुरा बजार पठाउने गरेको उनले जानकारी दिए । दैनिक आठदेखि १० किलोसम्म च्याउ बिक्री गर्न सकिने बजार रहे पनि मागअनुसार उत्पादन गर्न नसकेको उनको भनाइ छ । तराईका जिल्लाहरुमा यसको ठूलो माग भए पनि उत्पादन गर्न नसकेको उनले बताए ।
च्याउ खेतीबाट आफू मात्रै स्वरोजगार नभई अरूलाई पनि यसतर्फ आकर्षित गर्न सकिने जोशीको अनुभव छ । उनले पछिल्ला केही वर्षयता सरकारी कार्यालयमार्फत सुदूरपश्चिमका तराईका जिल्लामा समेत सिताके च्याउ खेतीसम्बन्धी तालिममा प्रशिक्षकका रूपमा सीप सिकाउँदै आएका छन ।
विदेशमा रोजगारी खोज्दै हिँड्दा सिकेको सीप गाउँमै प्रयोग गर्न सके आत्मनिर्भर बन्न सकिने उदाहरण जोशीले प्रस्तुत गरेका छन । स्थानीयस्तरमै उत्पादनको सम्भावना, बजारको माग र प्राविधिक सीपलाई जोड्न सके ग्रामीण क्षेत्रमा पनि च्याउ खेती आम्दानीको भरपर्दो माध्यम बन्न सक्ने उनको अनुभवले देखाएको छ ।













