काठमाडौँ जाँदै गरेको उग्रतारा यातायातको बस दाङमा दुर्घटना, २२ जना घाईते

Image

डडेल्धुरा । डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको उग्रतारा यातायात प्रा.लीको ना ८ ख ७४५५ नम्बरको बस बिहिबार बिहान दाङको लमही नगरपालिका–१ को कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको छ । बस बिहान करिब ३ बजेको समयमा पुलबाट खोलामा खसेको थियो ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेय नेतृत्वको टोलीले तत्काल उद्धारकार्य गर्दै २२ जना घाइतेलाई लमही अस्पताल पुर्‍याएको छ । अहिले उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

‘२२ जना घाइते अस्पतालमा छन्, जसमध्ये २ जनालाई थप उपचारका लागि बाहिर रिफर गर्नुपर्ने देखिएको छ,’ निरीक्षक पाण्डेले भने । उनका अनुसार बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

बसमा कुल ३८ जना सवार रहेको र ‘पट्टा भाँचिएर’ दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन्।