ख्रीष्टमसका अवसरमा न्यानो लुगा वितरणसंगै शुभकामना आदान–प्रदान

Image

डडेल्धुरा । ख्रीष्टमसका अवसरमा न्यानो लुगासंगै शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७ पोखरा स्थित जनप्रिय पब्लिक स्कुलको प्राङ्गणमा ख्रीष्टमस पर्वको अवसरमा न्यानो लुगासंगै भव्य शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

आशिष चर्च कैलालीका पास्टर डेभिड कैनीको सहयोग तथा नयाँ जीवन मण्डली डडेल्धुरा पोखराका पास्टर करन कैनीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा समुदायप्रति सहकार्य र सेवाभाव प्रस्तुत गर्दै ५० थान जाकेट, ७५ जोर न्यानो टोपी र मोजा वितरण गरिएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमरगढी नगरपालिका ७ का वडा अध्यक्ष खडक बोहराले वेलुन उडाएर गरेका थिए । कार्यक्रममा राजनीतिक दलका जिल्ला स्तरीय नेताहरू, वडा सदस्य, डडेल्धुरा जिल्लामा क्रियाशील विभिन्न चर्चका पास्टर तथा अगुवा, प्रहरी प्रमुख, पत्रकार, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रमको विशेष सन्देश तथा प्रवचन पास्टर हर्क कैनीले दिएका थिए । उनको सन्देशले सहभागीहरूलाई आत्मिक रूपमा प्रेरित तथा आशिषित बनाएको सहभागीहरूको भनाइ छ । साथै कार्यक्रममा उपस्थित सम्पूर्ण पास्टर तथा अतिथिहरूले आ आफ्नो मन्तव्य राख्दै ख्रीष्टमसको सन्देश प्रेम, शान्ति, क्षमा र सद्भाव समाजमा फैलिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन पोखरामै रहेको नयाँ जीवन चर्चका पास्टर करन कैनीले गरेका थिए । साथै उनले कार्यक्रमको असल व्यवस्थापन र उपस्थित सबै अतिथीहरुलाई फलफूलको पनि व्यवस्था गरेका थिए । कार्यक्रमको अध्यक्षता पास्टर जितेन्द्र ताम्राकारले गरेका थिए ।

कार्यक्रममा प्रश्तुत गरिएका विभिन्न गीत र नृत्यहरुले अझै रोचक र प्रभावकारी बनेको पास्टर करन कैनीले बताए ।