टीम अस्पताल डडेल्धुराले माग गर्यो ठूलो संख्यामा कर्मचारी

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको तुफानडाडाबाट संचालनमा आउन लागेको बिषेशज्ञ चिकित्सकसहितको टीम अस्पताल प्रा.ली.ले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । सर्जरी, अर्थो, गाईनो, एमडीजीपीसहित अन्य चिकित्सक अनकलमा रहने गरि संचालनमा आउन लागेको टीम अस्पतालले एमडीजीपी चिकित्सक, मेडिकल अधिकृतसहित ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

अमरगढी नगरपालिका–५ तुफानडाडा चोक स्थित सिद्धार्थ बैंक रहेको भवनमा अहिले अस्पताल संचालनका लागि काम भईरहेको संचालक हरी धामीले जानकारी दिए । उनका अनुसार यही आउदो माघ महिनाको पहिलो साता भित्रै २५ शैय्याको टीम अस्पताल संचालनमा ल्याउन कर्मचारी माग गरिएको हो ।

अस्पताल संचालनका लागि अहिले एमडीजीपी चिकित्सक, मेडिकल अधिकृत एक/एक जना, स्टाफ नर्स आठ जना, अनमी, हेल्थ असिस्टेन्ट, फार्मासिष्ट चार/चार जना, अहेव, ल्याब टेक्नीसीयन तीन/तीन जना, बीएमएलटी दुई जना, व्यवस्थापक एक जना गरि दक्ष कर्मचरीको माग गरिएको उनले बताए । यस्तै लेखापाल, क्यासीयर, रिसेप्सनिस्ट, मार्केटिंग अफिसर, कार्यालय सहयोगी र सुरक्षा गाडी गरि १७ जना कर्मचारी माग गरिएको उनले बताए ।

उनका अनुसार अस्पतालमा माईनर, मेजर सर्जरीसहित स्त्री रोग बिषेशज्ञ, हाडजोर्नी बिषेशज्ञ चिकित्सकले अस्पतालमा उपचार सेवा प्रदान गर्ने छन । अन्य बिषेशज्ञ चिकित्सक अनकलमा रहने छन । सातामा एक पटक गरि महिनामा अवाश्यक सबै बिषेशज्ञ चिकित्सक अस्पतालमा आउने संचालक धामीले बताए ।

धामीले हाल धनगढीमा कैलाली अस्पताल प्रा.ली. र रुद्राक्ष डाईग्नोष्टिक सेन्टर संचालन गरि रहेका छन । यी दुई अस्पताल संचालन गरेको समुहले डडेल्धुरामा टीम अस्पताल संचालन ल्याउन लागेको हो । सुदूरपहाडका बिरामीहरु लाई बिषेशज्ञ उपचार सेवा प्रदान गर्ने लक्ष्यकासाथ टीम अस्पताल संचालनमा ल्याईन लागेको उनको भनाई छ ।

डडेल्धुरा अस्पताल हुनु पूर्व पनि यहाँ टीम अस्पताल थियो । वि.सं. २०१८ मा अमेरिकी डा. मेनार्ड सिमनले १२ शैय्याबाट टीम अस्पतालको सुरुवात गरेका थिए । त्यो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । २०४५ मा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भएको थियो भने २०५१ मा ५० शय्यामा स्तरोन्नति गरिएको थियो । तत्कालिन अवस्थामा टीम अस्पतालले कम दक्ष जनशक्तिमा सुदूरपश्चिम पहाडका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको थियो ।